जेन–जी आन्दोलनपछि धमिलिएको नेपाली राजनीति र दलहरूको भविष्य निर्माणका लागि हाल सबै दलभित्र पुस्ता हस्तान्तरणको बहस र दबाब तीव्र बन्दै गएको छ। यही पृष्ठभूमिमा, नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापति बुद्धि प्रकाश वलीले समितिको अधिवेशन घोषणा गरेका छन्।
नेपाली काँग्रेसको विदेशस्थित जनसम्पर्क समितिलाई पूर्वनिर्धारित परिपत्रअनुसार अधिवेशन गर्नुपर्ने बाध्यताअनुरूप, सभापति वलीले तोकिएको समयमा अधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने तयारी अघि बढाएका छन्। साथै, नयाँ सदस्यता र नविकरणका लागि प्रेस विज्ञप्ति अनुसार क्यानाडामा बस्ने सबै प्रजातान्त्रिक सदस्यहरूलाई सदस्यता लिन अपिल समेत गरेका छन्।
क्यानाडा जनसम्पर्क समितिका संस्थापक सभापति समेत रहेका वलीले यस अधिवेशनमार्फत नेतृत्व युवाहरुलाई हस्तान्तरण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। साथै, विश्वभरका सम्पर्क समितिहरूले पनि युवालाई नेतृत्व हस्तान्तरण गर्दै मातृ पार्टी नेपाली काँग्रेसले नयाँ पुस्तालाई जिम्मेवारी दिन सके पार्टीलाई पुनर्जीवन दिलाउन सकिने बताए।

जेन–जी आन्दोलनले उठाएका जायज मागहरू सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने र युवाहरुलाई नेतृत्व पंक्तिमा राखी नयाँ नेपाल निर्माण तथा समग्र राष्ट्रिय विकासतर्फ अघि बढ्नु आजको ऐतिहासिक आवश्यकता भएको सभापति वलीको मूल्यांकन छ।
यद्यपि वलीले आफ्नै संस्थामा नेतृत्व हस्तान्तरणको अभ्यास अघि बढाएका छन्, नेपालमा वली, दाहाल, देउवा जस्ता परम्परागत नेताहरू अझै ‘बालहट’ गर्दै सत्ताकब्जा लम्ब्याउने प्रयत्नमा छन्। यसले राजनीतिक दलहरू पुस्तान्तरणप्रति अझै अनिच्छुक रहेको स्पष्ट देखाउँछ।
प्रतिक्रिया