पोखरा
तनहुँको शुक्लागण्डकी नगरपालिका फोहोरलाई मोहरमा बदल्ने प्रयासमा जुटिरहेको छ । लामो समयसम्म सेती किनारमा फोहोर फालेर आलोचना खेप्दै आएको नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहोरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान गरेर व्यवस्थापनमा जुटेको हो ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा पूर्वाधार निर्माणसँगै उपकरण जडानको काम सुरु भएको छ । फोहोरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता भइ काम अगाडि बढेको हो ।
सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहोरमैला प्रशोधनका विभिन्न यन्त्रउपकरण ल्याइएको छ । असोजभित्र फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’ ले बताए ।
‘मेसिनरी जडानको काम भइरहेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहोर यत्रतत्र हुनेछैन । टोलविकास संस्थासँगको सहकार्यमा घरबाटै फोहोर वर्गीकरण गरेर संकलन गर्ने योजनामा छौं ।’ बर्षौदेखि समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको समाधान हुने उनले उल्लेख गरे ।
गत बैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता लगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अर्गानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो ।
१० वर्षे अवधिको लागि फोहोरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले २ करोड चार लाख रुपैयाँको लगानी दिनेछ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहोरमैला व्यवस्थापनका विभिन्न यन्त्रउपकरण खरिद गरेर जडान हुनेछ । शुक्लागण्डकीले फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको हो ।
शुक्लागण्डकीका वन, वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका इञ्जिनियर भिम सुवेदीले असोजदेखि फोहोर प्रशोधनको काम सुरु हुने बताए । नगरपालिकाले गर्नुपर्ने सडक, विद्युत र खानेपानीको काम पनि भइरहेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७४/७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहोरमैला संकलनका लागि ट्रष्ट निर्माण गरेको हो । ट्रष्ट निर्माणका लागि २४ लाख ७० हजार ८५१ रुपैयाँ खर्च भएको छ । २०८०/८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख ५९ हजार ५३ रुपैयाँ लगानी भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा फोहोरमैला संकलन केन्द्रसम्म पुग्ने सडक सञ्जालको स्तरोन्नती गर्न ५२ लाख रुपैयाँ खर्च भयो । गत आर्थिक बर्षमा पनि फोहोरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब ४५ लाख रुपैयाँ खर्चेर तटबन्धन गरिएको छ ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले फोहोरमैला संकलन केन्द्र सञ्चालनमा ल्याउनै सकेनन् । एक पटक ठेक्का आह्वान भएपनि जनप्रतिनिधिकै विवादले सफल भएन । २०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिले नगर सरसफाइ अवलोकनको नाममा हेटौंडा उपमहानगरपालिका, बाग्मति नगरपालिका भ्रमण भन्दै दुई लाख ९९ हजार २२९ रुपैयाँ स्वाहा बनाए । यो खर्च आर्थिक बर्ष २०७९÷८० को बजेटबाट भएको थियो । अर्को वर्ष तिलोत्तमा र वालिङ नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति भ्रमणमा जादा ४६ हजार रुपैयाँ भुक्तानी भएको छ ।
करोडको लगानी गरेको फोहोरमैला संकलन केन्द्र सञ्चालन गर्न नसकेको शुक्लागण्डकीले सेती नदी किनारमा फोहोर फाल्दै आइरहेको छ ।
प्रतिक्रिया