पोखरामा शनिबार विहानसम्म कर्फ्यू

पोखरा

पोखरामा शनिबार विहानसम्मलाई कर्फ्यू आदेश जारी गरिएको छ । शुक्रबार साँझ ७ बजेदेखि लागू हुने गरेर शनिबार विहान ५ बजेसम्मलाई कर्फ्र्यू आदेश जारी गरिएको हो ।

पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि ३३ सम्म यो आदेश लागू हुनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । कर्फ्यू अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी साधनहरु सञ्चानलन हुन पाउनेछ ।

शनिबार विहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि पोखरा महानगरपालिकाको ३३ वटै वडामा निषेधाज्ञा जारी गरिएको थियो ।
पोखराको माछापुच्छ्रे, अन्नपूर्ण, रुपा र मादी गाउँपालिका क्षेत्रमा भने कर्फ्यू र निषेधाज्ञा लगाइएको छैन ।