तोडफोडमा र लुटपाटमा संलग्नलाई कारबाही गर्ने प्रदेश सुरक्षा समितिको निर्णय

पोखरा

जेन–जी समूहको प्रदर्शनका क्रममा तोडफोड र चोरीमा संग्लनको पहिचान गरि कारबाही गरिने भएको छ । मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले कानुनी कारबाहीका लागि मातहातका निकायलाई निर्देशित गर्ने निर्णय गरेको हो ।

‘आन्दोलनका क्रममा भएका सार्वजनिक, निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ–आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गर्ने’ बैठकले निर्णय गरेको हो ।

भदौ २३ र २४ गते जेन–जी समूहको प्रदर्शनल् गण्डकीमा उत्पन्न असामान्य स्थिति र त्यसले प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावबारे सुरक्षा निकायका प्रतिनिधिले मुख्यमन्त्री पाण्डेलाई ब्रिफिङ गरेका थिए ।

सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार हालसम्म फिर्ता नभएको उनीहरुले बताएका थिए । हतियार फिर्ता गर्न आह्वान गरिएको छ । समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रुपमा कानून बमोजिम कारवाही प्रक्रियामा लैजाने समितिले निर्णय भएको हो ।
चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णयमा उल्लेख छ ।