धादिङ
भूमिसम्बन्धी समस्या समाधान आयोग धादिङका नव नियुक्त अध्यक्ष हरिप्रसाद पन्तले पदभार ग्रहण गर्नुभएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा धादिङका लागि नियुक्त अध्यक्ष पन्तले वुधवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै अध्यक्ष पन्तले संविधानले प्रत्याभूत गरको नागरिकका मौलिक हकको कार्यान्वयन गर्न आयोगमा अवसर मिलेको बताउँदै भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिमा रहेको आयोगको कार्यालयमा पूर्व सांसद खेमप्रसाद लोहनी, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उप्रमुख कुलमान विश्वकर्मा, मुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतको उपस्थितिमा अध्यक्ष पन्तले पदभार ग्रहण गर्नु भएको थियो ।
पदभार ग्रहण कार्यक्रममा पूर्व सांसद लोहनीले पन्तको नियुक्तिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा सक्रिय योगदान पुग्ने विश्वास गर्नुभएको थियो । आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने, अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरण लगायत विषयलाई समेट्ने गरी काम गर्न पनि लोहनीले सुझाव दिनुभयो ।
नेपाल सरकारले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम देशभरका विभिन्न जिल्लाका अध्यक्षहरू चयन गर्ने क्रममा धादिङ जिल्लाका लागि पन्तलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया