टिकटक गर्ल’को हनी ट्रयापमा सरकारी कर्मचारी, काठमाडौंमा घर-जग्गा बार्गेनिङ ‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’

  सम्पादक | ८ जेष्ठ २०८२, बिहीबार १७:५७

८ जेठ, काठमाडौं । गत चैतमा अन्दाजी ५५/५६ वर्षका एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । युवतीको सुन्दर तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै एक्सेप्ट गर्छन् ।

फेसबुकमा साथी बनेको एक सातासम्म दुवैतर्फबाट कुनै हाई-हेल्लो केही हुँदैन ।

एक सातापछि ‘टिकटक गर्ल’बाट म्यासेज आउँछ- हाई । सरकारी कर्मचारीले तुरुन्तै जवाफ फर्काउँछन्- हेल्लो ।

हाई-हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । पहिला सामान्य परिचय गरेर म्यासेन्जर गफिन थालेका उनीहरू एकअर्कामा आकर्षित हुन्छन् ।

गफगाफ भएको एक हप्तापछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन् । युवतीबाट कफी पिउने प्रस्ताव आएपछि ती सरकारी कर्मचारीले सहमति जनाउँछन् ।

गफगाफ भएको एक सातापछि उनीहरूको ठमेलमा भेट हुन्छ । फेसबुकमा ‘टिकटक गर्ल’ नाम गरेकी युवतीको तर्फबाट दुई जना ठमेल आउँछन् । ती सरकारी कर्मचारी पनि ठमेल पुग्छन् । पहिलो भेटमा उनीहरू कफी खाएर छुट्टिन्छन् ।

यसको एक सातापछि फेरि ‘टिकटक गर्ल’बाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आउँछ । यो प्रस्ताव ती कर्मचारीले स्वीकार्छन् र ठमेल पुग्छन् ।

यो मध्य वैशाखको घटना हो । ठमेलको एक रेष्टुरेन्टमा उनीहरूको खानपिन सुरु हुन्छ । तीनैजनाले मदिरा पिउँछन् । तर ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै मात्र मदिरा पिउँछन् र सरकारी कर्मचारीलाई सर्भ गरिरहन्छन् ।

पिउँदापिउँदै सरकारी कर्मचारी अचेत भइसकेका हुन्छन् । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् ।

पूर्ववत रूपमा ती सरकारी कर्मचारी आफ्नो कार्यालय जाने-आउने गरिरहेकै थिए । तर ठमेलमा मदिरा सेवन गरेर अचेत भएको करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । ती सरकारी कर्मचारीले पहिलाकै जस्तो असेप्ट गर्छन् ।

साथी बनाए लगत्तै सरकारी कर्मचारीको म्यासेन्जरमा भिडिओ, फोटो सहितको म्यासेज आउँछ । त्यसपछि भने उनी १० दिनअघिको ठमेलको घटनामा पुग्छन् ।

‘टिकटक गर्ल’को हनी ट्रयापमा सरकारी कर्मचारी, काठमाडौंमा घर-जग्गा बार्गेनिङ
ठमेलमा सँगै मदिरा पिएका युवतीसँगै अर्धनग्न अवस्थामा खिचेका फोटा, भिडिओ उनको म्यासेजमा आउँछ । काठमाडौंमा एउटा घर नदिए बलात्कार कसुरमा फसाउनेसम्मको ब्ल्याकमेलिङ पनि हुन्छ ।

‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।
‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।

म्यासेजमा घरजग्गा नदिए फसाउनेसम्मको ब्ल्याकमेलिङ गर्दै भिडिओ, फोटा आइरहेकै बेला कर्मचारीको सम्पर्कमा दुई पुरुष पनि पुग्छन् । एक जनाले भने मेरो आफन्त दिदी-बहिनीलाई यस्तोसम्म गर्ने भन्दै धम्क्याउँछन् भने अर्का पुरुषले म मिलाउँछु भन्दै फकाएजस्तो गर्छन् ।

एउटाले धम्क्याउने र अर्काले केही रकममा भए पनि केस मिलाउँ नत्र गाह्रो हुन्छ भन्दै फकाउँछन् ।

फोटा, भिडिओ सार्वजनिक गरेर बेइज्जत गर्नेदेखि बलात्कारको कसुरमा मुद्दा हालेर फसाउनेसम्मको ब्ल्याकमेलिङ भएपछि ती सरकारी कर्मचारी पनि आजित हुन्छन् । र, केही सिप नलागेपछि उनी हिजो (बुधबार) मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् ।

माथिको सम्पूर्ण घटना बताएपछि प्रहरीकै योजनाअनुसार ती सरकारी कर्मचारीले ‘टिकटक गर्ल’लाई सुरुमा ५ लाख दिने र बाँकी रकम पछि दिँदै जाने गरी कुरा गर्छन् । र, उनीहरुबीच सहमति पनि हुन्छ ।

अनि ती सरकारी कर्मचारीले आफ्नो कार्यालयबाट नजिकैको ठाउँ हनुमानस्थानमा ५ लाख रुपैयाँको चेक दिन ‘टिकटक गर्ल’लाई बोलाउँछन् । सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कर्मसियल बैंकको ५ लाखको चेक ‘टिकटक गर्ल’लाई दिन्छन् । त्यही बेला दुई ‘टिकटक गर्ल’लाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छ ।

पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौं हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।

उनीहरूले आपराधिक लाभ लिने उद्देश्यले ‘टिकटक गर्ल’ नाममा फेसबुक बनाएर युवाहरूलाई हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्य बनाएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

प्रहरीले आँचलको नामको ५ लाखको चेक उनीबाट बरामद गरेको छ भने दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्यले नै उनीहरूले ती सरकारी कर्मचारीलाई साथी बनाएको र ठमेलमा मदिरा सेवन गरेर अचेत बनाएपछि आफूहरू सँगै सुतेको जस्तो देखाउने गरी अर्धनग्न फोटा खिच्ने र भिडिओ बनाएको खुलेको एक अनुसन्धान अधिकृत बनाउँछन् । अर्धनग्न फोटा र भिडिओ खिचेपछि ती सरकारी कर्मचारीलाई त्यही छाडेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

त्यसपछि दुई पुरुष समेतको सहयोगमा धम्क्याउने र थर्काउने गरी रकम असुल्ने उनीहरूको नियत देखिएको एसपी आचार्य बताउँछन् । यो आपराधिक लाभको कसुरमा संलग्न रहेको आरोपमा लागेका दुई पुरुषको पहिचान भइसकेको प्रहरीले बताएको छ । तर अहिलेसम्म उनीहरू भने पक्राउ परेका छन् ।

प्रतिक्रिया