गुटभन्दा माथि उठाउन एनआरएनए क्यानडाको अध्यक्षमा चन्द्राको उम्मेदवारी

  सम्पादक | ६ श्रावण २०८२, मंगलवार १४:१८

क्यानडा

एनआरएनए एनसीसी क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । गुटभन्दा माथि उठेर साझा मन्च बनाउन प्रयासरत रहने उद्घोषसहित चन्द्राले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।

उनी हालकी महासचिव रहेकी छन् । मतदानमार्फत चुनिएर पहिलो महासचिव बनेकी चन्द्राले पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने दाउमा छिन् । एनआरएनए क्यानडाको अध्यक्षमा महिलाले उम्मेदवारी दिएको पनि पहिलो पटक हो ।

नीति र कार्यान्वयनको अन्तर बुझेर कार्यसम्पादनको तहमा निस्वार्थ भावनाले लाग्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ । ‘म गुटभन्दा माथि उठेर साझा मञ्च बनाउन प्रयासरत रहन्छु’, अधिकारी भन्छिन्, ‘मलाई नेपाली डायस्पोराको सामूहिक शक्ति र बौद्धिक योगदानको मूल्य थाहा छ ।’

नेपाली डायोस्पोरालाई सबल, सक्षम अनि उर्जाशील बनाउने उनले प्रतिबद्धता जनाएकी छन् ।


आफूले जितेमा नेपाली समुदायका सुखदुखको सारथी भएर अगाडि बढ्ने उनको प्रण छ । ‘क्यानडामा कति नेपाली हुनुहुन्छ यकिन तथ्याङ्क छैन । तथ्याङ्क संकलनमा मेरो पहिलो प्राथमिकता हुनेछ’, योजना सुनाउदै उनले भनिन्, ‘हाम्रो आफ्नै कार्यालय छैन । झोलामा कागजपत्र बोकेर हिँड्नुपरेको छ । आफ्नै भवन बनाउने सोंच छ ।’

यस अगावै अगाडि सारेको सामुदायिक भवन बनाउने योजनालाई निरन्तरता दिने उनको दाबी छ ।भैपरी आउने समस्यालाई समाधान गर्न खडा गरिएको आकस्मिक कोषलाई वृद्धि गर्दै नेपाली डायोस्परामा विस्तार गर्ने उनको भनाइ छ । नेपाली भाषा संस्कृति आफ्नो मुख्य एजेन्डा रहेको उनले बताएकी छन् ।

आफू सक्षम, सबल युवा भएकाले पनि चुनावी मैदानमा उत्रिएको उनको दाबी छ । भन्छिन्, ‘युवा र सक्षम भएकाले संस्थालाई थप उचाईमा पु¥याउनेछु ।’

स्याङजा चापाकोटकी चन्द्रा १० वर्षदेखि क्यानडामा छिन् । उनी नेपाली समुदायको सुखदुखको सारथी बन्दै आइरहेकी छन् ।

६००० हाराहारीमा मतदाता भएको एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ मा मतदान हुनेछ ।

प्रतिक्रिया