क्यानडा
एनआरएनए क्यानडामा उत्तरदायी नेतृत्व आवश्यकता रहेको बताउँदै सन्तोष दाहालले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । जुलाई २७ मा हुने निर्वाचनमा दाहालले उम्मेदवारी दिएका हुन् ।
एनआरएनए क्यानडालाई च्यारिटेबल संस्थाको रुपमा रुपान्तरण गर्ने उनको मुख्य एजेन्डा रहेको छ । ‘सिआरए अन्तर्गत च्यारिटी दर्ता, कर, छुट, सरकारी अनुदान, पारदर्शी संस्थागत फन्डिङमा काम गर्नेछु’, उनले भने । सदस्यको आवाजमा आधारित एनआरएनए क्यानडाको मूल कानुन संशोधन पनि उनले उठाएको मुद्वा हो ।
एनआरएनए नागरिकताको व्यवहारिक कार्यान्वयनमा जोड दिने उनको वरिष्ठ उपाध्यक्षका उम्मेदवार दाहालको उद्घोष छ । ‘नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गरी सम्पत्ति स्वामित्व, नागरिकताको कानुनी स्पष्टता र हक अधिकार सुनिश्चित गर्ने रणनीति अवलम्बन गरिनेछ’, उनी भन्छन्, ‘विशेषतः एनआरएनए नागरिकता प्राप्त गरेपछि अघिल्लो नेपाली नागरिकतामा खरिद गरिएका सम्पत्तिको सुरक्षित रूपान्तरणका लागि स्पष्ट र कार्यान्वयनयोग्य कानुनी प्रक्रिया निर्माणमा पहल गर्नुपर्नेछ ।’
संघीय, प्रान्तीय सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै परियोजनामा आधारित लगानीमार्फत संस्थाको दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्ने दाहालको लक्ष्य छ । डायस्पोरा मैत्री कार्यक्रम सञ्चालन गर्ने, अपातकीलन सहायता कोष स्थापना गरेर नेपाली समुदायलाई संस्थागत सहयोग गर्ने, स्मार्ट नेतृत्व मुल्यांकन र पारदर्शिता लगायत एजेन्डा उठाएका छन् ।
डेटा सुरक्षामा शून्य सहनशीलता अबको नेतृत्वको केन्द्रबिन्दु हुनुपर्ने उनले सुनाए । ‘हालै सार्वजनिक भएको एनआरएनए क्यानाडा सदस्य डेटा लीक घटनाले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ । हजारौँ सदस्यहरूको संवेदनशील जानकारी लिक हुनु नेतृत्वगत लापरवाहीको स्पष्ट उदाहरण हो’, उनले भने । डेटा सुरक्षामा शून्य सहनशीलताको ऐतिहासिक प्रतिबद्धता उनले जनाए ।
डेटा गोपनीयताको आचारसंहिता निर्माण, साइबर सुरक्षा प्रणाली लागू, डेटा इनक्रिप्शन र सदस्य अनुमतिमा आधारित प्रणाली, कानुनी जवाफदेही संयन्त्र कार्यान्वयनमा ठोस कदम चाल्ने भएकाले आफूलाई मतदान गरेर निर्वाचित गराउन मतदाता समक्षको उनको अनुरोध छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका खेलेका दाहालले नेपाली अन्तर्राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रममा नेपालको औपचारिक प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल र क्यानडाबीचको सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्ध सुदृढ पार्न प्रतिबद्ध रहेको उनले सुुनाए ।
१३ वर्षदेखि क्यानडामा रहेको नेपाली समुदायसँग सामाजिक क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । नेपाली क्यानडेली डायस्पोरा समुदायको नीति निर्माण, नेतृत्व विकास, संस्थागत सुढृणीकरण र समन्वयको अभियन्ताको छवि सन्तोषले बनाएका छन् । उनी हाल एसोशियसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) का उपाध्यक्ष भएर काम गरिरहेका छन् । एएनए ४२ औं अन्तर्राष्ट्रिय सम्मेलन २०२५ क्याल्गरीको मानर्थ संरक्षक समेत हुन् ।
प्रतिक्रिया