खेतमा धाँजा फाटेपछि आकाश हेर्दै बस्छन् किसान

  सम्पादक | १० श्रावण २०८२, शनिबार ०१:४५

तनहुँ

तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनकी बिमला गैह्रेको खेत र मन दुईतिरै धाँजा फाँटेको छ । पर्याप्त पानी नपर्दा खेतमा सिंचाई नभएर धाँजा फाट्यो । बडो मेहनतले रोपेको धान चर्को घामले सुकेरै जान्छ की भन्ने सुर्ताले मन ।
असार १० गते बुडुवा फाँटको साढे तीन रोपनी खेतमा उनले रोपाइँ गरेकी थिइन् । त्यसयता पर्याप्त बर्षा नभएको उनको भनाइ छ । ‘बुडुवा खोलामा पानी बढेको छैन । तल्लो भागसम्म कुलोबाट लगाएको पानी नै आइपुग्दैन्’, उनी भन्छिन्, ‘सारै समस्या भो । कसरी जोगाउने भन्ने चिन्ताले सताइरहेको छ ।’

उनका अनुसार बुडुवा फाँटमा पानीको समस्याले रोपेको धान जोगाउन मुस्किल भएको सम्भवत पहिलो पटक हो । ‘यस्तो धाँजा फाटेको अहिलेसम्म थाहा थिएन । यसपाली के भो कुन्नी यस्तोविघ्न भयो’, उनले सुनाइन् । सिंचाइको व्यवस्था भए बर्षभरीलाई पुग्ने धान जोगाउन सकिने उनलाई लागिरहेको छ ।

विमलाको जस्तै समस्या छ ऋषिङपाटनकै देवीराज अधिकारीलाई पनि । उनी भन्छन्, ‘रोप्न त जेनतेन गरेर खेत रोपियो । पूरै धाँजा फाटेको छ । हप्ता दिन पानी परेन भने त सबै मर्ने अवस्थामा छ ।’
फाँटभन्दा तलपट्टि उर्लेर सेती नदी बगेको हेर्छन् । सिँचाईको अभावले फाँटैभरी खेत सुकेर धान मर्ने अवस्थामा पुगेको देख्दा उनको मन अमिलो हुन्छ । उनका अनुसार बुडुवाफाँटमा झन्डै एक हजार ६०० रोपनी क्षेत्रफलमा धान खेती लगाइन्छ । सबैतिर पर्याप्त पानी नभएको अधिकारीले सुनाए ।

माथिल्लो क्षेत्रमा आलोपालो गरेर सिंचाई गरेपनि तल्लो क्षेत्रमा पानी नपुगेको उनको भनाइ छ । ‘आकाश हेरेर बस्नेबाहेक अरु केही उपाय छैन । हामी किसानहरु सारो मर्कामा छौं’, मौसमविद्प्रति आक्रोश पोख्दै उनी भन्छन्, ‘यसपालि त झन् धेरै पानी पर्छ भनेर आत्तिएर छिटो विउ राखियो । विउ बूढो भएर हतारमा रोप्नुप¥यो । अहिले पानी नआएर रोपो कसरी जोगाउने भन्ने चिन्ता छ ।’

तनहुँको फाँटहरुमा रोपेको धान जोगाउने चिन्ता छ । टारी खेतमा भने धान कसरी रोप्ने किसान अन्यौलमा परेका छन् । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामीछानेले आकाशे भल छोपेर रोपाइँ गर्ने पहाडी इलाकामा निकै समस्या भएको बताउँछन् । ‘माथिल्लो भेगमा रोपाइँ गर्नै समस्या छ । फाँटहरुमा पनि सिँचाईको समस्या देखिन थालेको छ’, उनी भन्छन्, ‘पर्याप्त नहुदाँ आलोपालो सिंचाई गर्नुपर्ने अवस्था छ ।’ अहिलेसम्मको अवस्थामा त्यति असर नगरेपनि लामो समय पानी नपरे धान उत्पादनमा ह्रास आउने लामीछानेको विश्लेषण छ ।

तनहुँमा ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । त्यसमध्ये यो वर्ष ७ हजार १२२ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान गरिएकोमा ८१.६७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्याङ्क छ ।
तनहुँमा जस्तै नवलपुरमा पनि रोपेको धान जोगाउन मुस्किल छ । खोलानालामा पानी वहाव नबढ्दा सिँचाईको अभावले खेतमा धाँजा फाट्न थालेको हो । फाँटहरुमा डिप बोरिङको सिंचाइले जेनतेन जोगाएको छ । बोरिङको सिंचाइको पहुँच नभएका खेत सुख्खा देखिन्छ ।

पहाडी क्षेत्रका किसान बर्षाको प्रतिक्षामा रहेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि प्रसार अधिकृत विश्वास काफ्ले बताउँछन् । ‘पानी परिरहेको छैन, पूरै सुख्खा छ । जहाँजहाँ डिप बोरिङ छ त्यहाँ अलिकति सुविधा भयो सिंचाईको’, काफ्ले भन्छन्, ‘राजमार्गभन्दा माथि टार क्षेत्रमा पूरै सुख्खा छ । अहिले किसानहरु चिन्तित हुनुहुन्छ पानी नपरेर ।’ नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौद्धिकाली र बुलिङटार गाउँपालिकामा रोपाई सुरु हुनै नसकेको उनले जानकारी दिए ।

पर्याप्त बर्षाको अभावले गण्डकीमा रोपाई विगतको बर्षाको तुलनामा केही मात्रामा भएपनि प्रभावित देखिन्छ । यो वर्ष साउन पहिलो साता सकिदासम्म ७९.२८ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय गण्डकीका सूचना अधिकारी कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार ७४ हजार ६६४.९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान रहेको पौडेलले उल्लेख गरे । गण्डकीको हिमाली जिल्ला मुस्ताङ र मनाङ बाहेक ९ जिल्लामा धान खेती हुन्छ ।
रोपाइँ जसोतसो भएपनि धाँजा फाट्ने समस्या जताततै देखिन थालेको पौडेल बताउँछन् । ‘तथ्याङक हेर्दा त खासै फरक होइन । रोपाइँ पश्चात पानी नहुनाले धान मर्दै गएको गुनासो आउन थालेको छ’, उनले भने ।

गण्डकीमा गत वर्ष साउन पहिलो हप्तासम्म ८४.२६ प्रतिशत रोपाइँ सकिएको थियो । गत वर्ष कुल ९६ हजार ५३ हेक्टरमा धान रोपिएको हो । आर्थिक बर्ष २०८०÷८१ मा साउन पहिलो हप्तासम्ममा ८२.१३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । त्यो वर्ष ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

यो वर्ष हालसम्म सबैभन्दा धेरै लमजुङमा ८ हजार ४४०.४३ हेक्टर क्षेत्रफलमा अर्थात ९०.७७ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकीसँग तथ्याङक छ । कास्कीमा ८६.६२ प्रतिशत (१४ हजार ५० हेक्टर), बागलुङमा ८५ प्रतिशत (४ हजार ८५०.९५ हेक्टर), तनहुँमा ८१.६७ प्रतिशत (७ हजार १२२ हेक्टर), म्याग्दीमा ८०.१ प्रतिशत (३ हजार ३५ हेक्टर) रोपाइँ सकिएको छ ।

नवलपुरमा ७८.६० प्रतिशत (१४ हजार ७१३ हेक्टर), स्याङजामा ७५ प्रतिशत (१० हजार ७९२.५ हेक्टर), पर्वतमा ७० प्रतिशत (५ हजार २६ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको हो ।

सबैभन्दा कम गोरखामा ६५.३४ प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँको १० हजार १४० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा साउनको पहिलो हप्ता सकिदासम्म ६ हजार ६२५ हेक्टरमा मात्रै रोपाइँ भएको हो ।

पर्याप्त पानी नपरेकै कारण गोरखामा रोपाइँ बढ्न नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ सुमन भट्टराईले बताए । यो हप्ता पानी परेकाले रोपाँइ भइरहेको उनको भनाइ छ । ‘अघिल्लो हप्ता पानी नपर्दा अपेक्षित रुपमा रोपाइँ बढ्न सकेन’, उनले भने । सिंचाईको समस्या पालुङटारकै फाँटमा पनि देखिएको उनले सुनाए ।

गण्डकीमा यो वर्ष पर्याप्त बर्षा भएको छैन । नेपालको चेरापुञ्जी भनेर चिनिने कास्कीको लुम्लेस्थित जलमापन केन्द्रमा पछिल्लो हप्ताको रेकर्डले पनि उतिसारो बर्षा देखाउदैन ।

गत शुक्रबार २.६, शनिबार ०.२, आइतबार अत्यधिक २१५.६, सोमबार ३८.२, बुधबार २६.२ मिलिलिटर बर्षा मापन गरिएको छ । मंगलबार र बिहिबार भने बर्षा नै भएन ।

प्रतिक्रिया