पूर्वगृहमन्त्री शर्मा भन्छन्ः सरकारले जनतासँग माफी माग्नुपर्छ, दमनले आन्दोलन रोकिन्नँ

  सम्पादक | २३ भाद्र २०८२, सोमबार ११:३५

पूर्वगृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले आन्दोलनलाई दमन गरेर रोक्न नसकिने बताएका छन् । दमनले आन्दोलन रोक्न नसक्ने इतिहासले पुष्टि गरिसकेको उल्लेख गरे ।

‘यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ । सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन’, नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्माले भने ।

जेन–जी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभइ गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन सरकारसमक्ष उनको आग्रह छ । यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने बताए ।

‘सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउनुपर्नेछ’, फेसबुकमा उनी लेख्छन्, ‘भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्नुपर्छ र २०४६ साल यताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न सरकारले ढिलाइ नगर्नु आवश्यक छ ।’

संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न आन्दोलनकारी समक्ष उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया