आफ्नै जनता मार्ने आतंकवादी मानसिकताको सरकार होः सोविता गौतम

  सम्पादक | २३ भाद्र २०८२, सोमबार ११:२८

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोवित गौतमले वर्तमान सरकारलाई आतंकवादी मानसिकताको सरकार भएको टिप्पणी गरेकी छन् । सरकारले आफ्नै जनता मारेर आतंकवादी मानसिकता देखाएको उनको प्रस्टोक्ति छ ।

सरकारले बन्दुकको साहरामा देशको भविष्य हत्या गरेको उनको भनाइ छ । जेन–जी आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै रास्वपा नेता गौतमले जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार भएको बताएकी छन् ।
‘प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधैं गोली चलायो । बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो’, उनको आरोप छ ।

कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोलेको उनको भनाइ छ । उनि भन्छिन्, ‘यो हत्या हो । यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति हो । जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो ।’

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार भएको उनको भनाइ छ । ‘यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो’, उनले भनिन् ।

प्रतिक्रिया