गण्डकी उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत

  सम्पादक | १७ श्रावण २०८२, शनिबार ०९:३२

पोखरा

गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भए । सदस्यमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य रहेका छन् ।
देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने अधिवेशनमा संकल्प गरिएको छ ।

२०७७ सालमा स्थापना भएको परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन् । परिसंघले विगतमा प्रदेश तथा संघीय सरकारलाई बजेटसम्बन्धी सुझाव दिने, ‘इन्सुर’ परियोजनामार्फत प्राविधिक तालिम सञ्चालन गर्ने र पोखरामा आयोजित औद्योगिक व्यापार मेलामा उद्योगीहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने काम गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष बर्तौलाले बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले देशलाई परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट बाहिर निस्कन सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए । उनले अत्यावश्यक वस्तुबाहेक अन्य आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति निर्माणमा जोड दिए । ‘नयाँ उद्योग स्थापना गरी रोजगारीका अवसर सिर्जना गरेर उज्ज्वल भविष्यको खोजीमा विदेश जान बाध्य युवाहरूलाई स्वदेशमै रोक्नु हाम्रो प्रमुख लक्ष्य हो,’ उनले भने ।

बर्तौलाले श्रमिकहरूलाई आकर्षक पारिश्रमिक र सुरक्षित भविष्यको प्रत्याभूति दिँदै गण्डकी प्रदेशलाई एक औद्योगिक हबको रूपमा विकास गर्न पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । नवर्तमान अध्यक्ष विनोद शर्मा न्यौपानेले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै परिसंघका गतिविधि र भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया