बागलुङ
हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूल । अग्ला पहाडमा ठोक्किदै छिनभरमै कुँइरोको लुकामारी । मुटु छुने बतासको सुस्केरा । कलकलाउदै बग्ने पानीको धुन । पहाडलाई सिरानी हालेर मस्त छ जल्पाताल ।
बर्खा लागेसँगै बाग्लुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पातालले रुप फेरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ताललाई दुवै पालिकाले आ–आफ्नो दाबी गर्छन । यतिबेला चल्तीमा रहेको गन्तव्य ढोरपाटनको शीरैमा रहेको तालले पर्यटकको पदचाप पर्खिरहेको छ ।
जल्पाताल ढोरपाटन पुग्ने पर्यटकका लागि ‘कुमारी गन्तव्य’ हो । स्थानीय भेडा गोठालो बाहेक निकै कम पर्यटकको पदचापले जल्पाताल वरपरको पाटनलाई स्पर्श गरेको छ । तर, जो पुग्छन् उनीहरुलाई मोहनी नै लगाउँछ ।
समुन्द्रि सतहबाट झन्डै ४ हजार ४०० मिटरको उचाइमा अवस्थित जल्पाताल ढोरपाटन उपत्यकाबाट तीन दिनको पदयात्रामा पुग्न सकिन्छ । जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रबद्र्धन गर्न सक्ने हो भने तालसम्म पुग्ने पर्यटकको संख्या निकै बढ्नेछ ।
ढोरपाटन सिकार आरक्षभित्र पर्ने ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ । त्यसैले पूर्वाधारको विकास, प्रबद्र्धनसँगै संरक्षणको आवश्यकता छ ।
प्रतिक्रिया