तनहुँको शुक्लागण्डकी च्यवनधाममा महायज्ञ सुरु

  सम्पादक | १९ श्रावण २०८२, सोमबार १२:०८

तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव सुरु भएको छ । सोमबारदेखि सुरु भएको धार्मिक महोत्सव साउन २६ गतेसम्म जारी रहनेछ ।

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा विगत एक दशकदेखि हरेक साउनमा सप्ताह ज्ञान महायज्ञ हुदै आइरहेको छ । धर्मको माध्यमबाट समाजको उत्थान तथा विकास गर्ने उदेश्य राखेर महायज्ञ गरिएको हो ।

धार्मिक महोत्सवको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’ ले संयुक्त रुपमा उद्घाटन गरे । महोत्सवको उद्घाटनपश्चात सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले मानवसभ्यताको विकास गर्न धर्म र शिक्षा सँगसँगै लैजान आवश्यक रहेको बताए । उनले च्यवनधामको विकासमा संघ र प्रदेश सरकारसँग सहकार्य गरेर बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले च्यवनधाम धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने सम्भावना रहेको बताए । ‘च्यवनधामलाई वरपरको गन्तव्यसम्म जोड्न आवश्यक छ’, उनले भने ।

उद्घाटनपूर्व शुक्लागण्डकी–४ दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वारबाट बाजागाजासहितको ¥याली निकालिएको थियो । सोमबार ब्रत बसेर शिवको पुजा आराधाना गर्ने भक्तजनले मन्दिर परिसर भरिभराउ थियो ।

महायज्ञ अवधिभर प्रातकालीन योज्ञ विज्ञान, दैनिक हवन, रुद्री, पाठ परायणसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प हुने मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिका सचिव दुर्गादत्त सापकोटाले बताए । उनका अनुसार ग्रहशान्ति, तुलादान लगायतका कार्यक्रम हुनेछन् । पण्डित ईश्वर रेग्मीद्वारा झाँकीसहित कथावाचन हुने जनाइएको छ ।

महायज्ञको अवसरमा अन्तर विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘साँस्कृतिक सहिष्णुतामा च्यवनधामको भूमिका’ विषयक प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्छ । मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क, महादेवको मुर्ति लगायत संरचना निर्माण गरिएको छ ।

सेती नदी किनारको जग्गा २०६७ सालबाट मन्दिरसहितका पूर्वाधार निर्माण सुरुआत गरिएको थियो । अहिले मुक्तिनाथ जान हिँडेका भक्तजन शुक्लागण्डकी च्यवनधाम दर्शनका लागि पस्ने गर्छन ।

प्रतिक्रिया