बर्खे झरीमा पर्यटक तानिरेहेको बुकीपाटन

  सम्पादक | २ भाद्र २०८२, सोमबार ०६:३९

पोखरा

झमझम दर्किरहेको बर्खेझरी । बर्खाको बेला झरीपछिको बाढी पहिरोले यात्रालाई रोक्ने सम्भावित दृश्य उनका आँखा वरपर फनफनी नाँचिरहे ।

आकाशको बादलजस्तै मनमा मडारिएको भयको बादलले म्याग्दीकी निर्मला कटुवाल क्षेत्रीको ढोरपाटनको बुकीपाटन यात्रालाई रोक्न सकेन । क्यामेराले कैद गरेर इन्टरनेटमा छ्यापछ्याप्ती बनाइएको ढोरपाटनका बुकीफूल र बुकीपाटनको मगमग वासनाले निर्मलालाई निम्ताइरहेको थियो ।

सामाजिक सञ्जालको पर्दामा देखेको मोहनि दृश्यले लोभ्याएपछि दर्किरहेको झरी, सडकको खाल्डाखुल्डी छिचोल्दै उनी निष्पट अध्याँरोमा ढोरपाटनको काखमा पुगेर सुस्ताइन् । वस्तीमा पिलिकपिलक गरिरहेका बिजुलीको चहक बाहेक उनले ढोरपाटन पुग्नेबेला अरु केही देख्न पाइनन् ।

भोलिपल्ट विहान आँखा खुल्नेवित्तिकै उनलाई तस्बिरमा देखेको ढोरपाटन प्रत्यक्ष नियाल्ने हतारो भयो । हत्तपत्त विस्तारा छाडेर होटलको बार्दलीबाट पहिलोपल्ट तस्बिरमा देखेको ढोरपाटनको फाँट आँखै अगाडि नियाल्दा उनलाई लाग्यो, ‘यो त कुनै चित्रकारले कोरेको विशाल क्यानभास नै होला ।’

‘हरियो पाटनमा राताम्मे हुने गरेर फूलेका बुकीफूलहरु । फूल विछ्याइको पाटनमा टहलिएका घोडा । माथि माथि आकाशमा देखिएका बादलका टुक्राहरु । चारैतिर हरिया डाँडाकाँडा । ओहो ! प्रकृति सिंगारिएर कसैको पर्खाइमा छ’, निर्मलालाई महशुुस भयो ।
ढोरपाटन उपत्यकाको दृश्य आँखाको क्यामेराले अन्तरहृदयमा सजाएर मात्रै उनको धित मरेको थिएन । ढोरपाटनको शीरमा रहेको जल्पातालसम्म पुगेर अझै धेरै दृश्यहरु दिल दिमागमा सजाउनु थियो उनलाई ।

झरी रोकिने सुरमा थिएन । झरीले निर्मलाको पदचाप रोक्ने सुरसार गरेन । झोका बोकेर फिरन्तेहरुको समूहमा निर्मलाको पदचाप जल्पातालको उकालोतर्फ लम्कियो । खोलाको कलकल धून, कुँईरोको लुकामारी, वतासको धून, थरीथरीका बुकीफूलसँग रम्दै पाँखाथर, गर्पाछेडा, फुस्रेदेउराली, टिकाधारा, फागुनेधूरी हँदै तेस्रो दिन उनी जल्पातालमा पुगिन् । जल्पाताललाई बागलुङको ढोरपाटन नगरपालिका–९ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा दाबी गर्ने गरिन्छ ।

सुरम्य लाली पोतेर मधुमासमा मस्त जल्पातालले उनलाई मोहनी लगायो । यात्राको थकान जल्पातालको एकै झलकले हराइदियो । जल्पातालको दृश्य मनैभरी, आँखैरभरी सजाउदै ओरालो लागिन् । बुकीपाटन उक्लेको तेस्रो दिनको आधा रातमा उनी ढोरपाटनको पाखाथरमा ओर्लिन् ।

आँखामै नअटाउने बुकीपाटन, बुकीपाटनमा फुलेका थरीथरीका बुकीफूल, मनको रहरभन्दा अग्ला पहाड, भेडाका बथान, भेडीगाठालेको जीवन र सरलता उनको मगजमा गहिरो डोब बनेर बसेका छन् ।

‘ढोरपाटन र बुकीपाटनका मनमोहक दृश्यहरु मेरो अन्तर्मनको पर्दामा सधैँ कोरिएर बसिरहने छन् । मेरो लागि ढोरपाटन यात्रा मन, शरिर, आत्म र प्रकृतिको अस्तित्व आत्मबोध गर्ने माध्यम बन्यो’, बुकीपाटन यात्राको वर्णन गर्दै उनी भन्छिन्, ‘स्वर्गको टुक्रा कतै छ भने ढोरपाटनको शीरमा रहेका बुकीपाटनहरु हुन् । जुन मनले मात्र महसुस गर्न सक्छ । हजार शब्द खर्च गरेर पनि ती पाटनहरुको वर्णन अधुरो नै हुन्छ ।’

निर्मलाको जस्तै अनुभव छ तनहुँ आँबुखैरेनीकी रिना गुरुङको । बर्खाको झरीको वास्तै नगरीकन उनलाई ढोरपाटनका बुकीफूलले सुगन्धले लठ्ठयाएर डाक्यो । दुई दिनको यात्रामा बल्लतल्ल ढोरपाटन पुगेकी उनी तीन दिनसम्म ढोरपाटन को सिरानमा मास्तिरको बुकीपाटनहरुमा हराइन् ।

झरीमा रुझ्दैभिज्दैं कहिले गोठस्टे त कहिले टेन्टमा रात कटाएर लमतन्न परेर फूलैफूलेको बगैंचामा सजिएका पाटनको रसस्वादनमा मग्न हुदाँ दिन वितेको पत्तै नभएको उनी बताउँछिन् । हिलोमा साँघुरा गोरोटे छिचोल्दै गरेको पदयात्रा अद्भूत लागेको उनको भनाइ छ ।

पदयात्रामा दुखेका पैताला, चिप्लो बाटोमा लडेर लागेको चोट, बाटो बिराएर रुमल्लिएको क्षणलाई त प्रकृतिले उपहार दिएको दृश्यले बिर्साइदियो । ‘यात्रा एकदम कठिन थियो । तर, यात्रामा देखिएको हिमाल, बुकीफूलहरु, डाँडा, तालको दृश्य हेरेर सबै दुखकष्ट बिर्सायो’, गुरुङ भन्छिन्, ‘यात्रा त निकै यादगार भयो । ठाउँ त घुम्नैपर्ने रहेछ ।’

पदयात्रामा रहर जाग्ने उनलाई ढोरपाटनको फाँटमा फूलैफूलको बीचमा चरेका घोडाको दृश्यले ढोरपाटनसम्म तानेको बताइन् । त्यो भन्दा मनमोहक दृश्य त फाँटबाट उकालो चढेपछि देख्न पाएको उनले सुनाइन् । ‘ढोरपाटनको सुन्दरता त फाँटमा भन्दा माथि बुकीपाटनमा उक्लिएपछि देख्न पाइदो रहेछ’, रिनाको अनुभवले भन्छ ।

बर्खाको बेला हरिया बुकीपाटनमा थरीथरीका फूलहरु ढकमक्क छन् । अग्ला पहाडलाई फन्को मार्दै कुहिरों लुकामारी गर्छ । बतासले साउती मार्दा कर्णप्रिय संगीत निस्कन्छ । बर्खा लागेपछि उक्लिएका भेडाका बथान पाटनभरी छिरोल्लिदा प्रकृति रोमाञ्चक बन्छ । फूलैफूलको बगानमा चर्ने भैंसी र घोडाको दृश्यले गोठालाको मन भरिन्छ ।

बुकीफूल र पाटनका दृश्यले मगमग वासना छरेपछि बुकीपाटनमा आन्तरिक पर्यटकको लस्कर उक्लिरहेका छन् । बर्खा लागेपछि बेशीबाट भेडीगोठ पाटनतिर उकाल्ने पुस्तौंदेखि चलन हो । बुकीपाटनको पोषिलो घाँसले वस्तुभाउ पुष्टिने भएकाले पाटनतिर बर्खा बिताएर दशैं मनाउन भेडीगोठालाहरु ढोरपाटन ओर्लन्छन् ।

दहखर्क, गार्पाछेडा, फुस्रेदेउराली, टीकाधारा, फागुनेधूरी हुदैँ जल्पातालसम्मको बुकीपाटनमा बागलुङसहित रुकुमपूर्व, म्याग्दी र डोल्पाका गोठलाको मात्रै पाइला पर्थो । पछिल्लो दुई वर्षदेखि आन्तरिक पर्यटकको पदचापले पनि यहाँको पाटन र प्रकृतिलाई स्पर्श गरिरहेको छ ।

असार, साउन र भदौ महिना पाटनमा बुकी फूलले ढकमक्क हुदाँ पर्यटकको आगमन बढेको ढोरपाटन पर्यटन प्रबद्र्धन विकास संस्थाका सचिव जीवन पुनले बताए । ‘ढोरपाटन आउने दोस्रो दिन बुकी पुगेर फर्कने पर्यटकहरु धेरै छन्’, उनी भन्छन्, ‘विहानपख सूर्योदयसँगै देखिने हिमाल र खुलेका पाटन हेर्दा मनमोहक देखिन्छ ।’ उनका अनुसार अधिकांश पर्यटक गर्पाछेडासम्म मात्रै पुग्छन् । केही गर्पाछेडाबाट फुस्रेदेउराली, टिकाधारा हुदै फागुनेको धूरीहुँदै ढोरपाटन ओर्लन्छन् ।

जल्पातालसम्म पुग्ने पर्यटक न्युन रहेको पुनले बताए । जल्पातालको प्रबद्र्धन नहुदाँ त्यहाँसम्म पुग्ने पर्यटकको संख्या बढ्न नसकेको उनको ठम्याइ छ । ‘हिजो पर्यटक ढोरपाटनसम्म मात्रै आएर फर्कने चलन थियो । पछिल्लो समयमा जलजला पठायौं । अहिले पर्यटकलाई बुकी पठाइरहेका छौं’, उनी भन्छन्, ‘अहिले जल्पाताल पनि ढोरपाटनको शीरमा छ भनेर प्रबद्र्धन थालेका छौं । अब जल्पातालले पर्यटक बढाउछ ।’

पाँखाथरबाट जल्पाताल पुगेर फर्कनलाई कम्तीमा तीन दिनको पदयात्रा तय गर्नुपर्छ । पहिलो दिन पाँखाथरबाट गर्पाछेडा पुगेर बास बस्न सकिन्छ । गर्पामा पर्यटकको संख्या बढेसँगै दुईवटा गोठस्टे खुलेका छन् । त्यहाँबाट माथि उक्लेपछि भने भेठीगोठबाहेक विकल्प छैन । सञ्चार सेवा नुपुगेकाले भेडीगोठालसँग सम्पर्क हुन नसक्ने कारण रात विताउने बन्दोवस्तीका सामग्री आफैंले लैजानुको विकल्प छैन । दोस्रो दिन गर्पाछेडाबाट फुस्रेदेउराली, टिकाधारा घुम्दै फागुनेधूरीमा बास बस्न सकिन्छ । तेस्रो दिन फागुनेधूरीबाट कम्तिमा ४ दिन उकालो हिँडेर जल्पाताल पुगिन्छ । त्यही दिन जल्पाबाट फागुनधूरी फर्किएर ठूलोमारी, सानोमारी, जौलेबिसौना, भुजी, स्यालपाखे हुँदै ढोरपाटन फर्कदा निकै हिँड्नुपर्छ ।

ढोरपाटनको शीरैमा रहेका बुकीपाटन र जल्पातालको सेरोफेरो निकै उत्कृष्ट गन्तव्य भएपनि पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औल्याउँछन् ट्रेकिङ गाइड विजय तामाङ । ‘सोंचेको भन्दापनि उत्कृष्ट गन्तव्य छ । तर, पूर्वाधार विकास गर्नुपर्ने छ’, उनी भन्छन्, ‘ठाउँ–ठाउँमा एरो, साइनबोर्डहरु राखिएन भने पर्यटक हराउने सम्भावना देखियो । बीच बीचमा टिसप, गोठस्टे भइदिए कम फोहोर हुनेथियो ।’ बाटैभर चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थको खोलले फोहोर बढाएको उनले सुनाए ।

पर्यटक बढेपछि पर्यटनकर्मीलाई ढोरपाटनको सुन्दरता नासिनेमा चिन्ता बढाएको छ । एकातर्फ जलवायु परिवर्तनको असर त छदैछ ढोरपाटनको सुन्दरताले लोभ्याएर पुगेका पर्यटकको हर्कतले पनि ढोरपाटन कसरी दुरुस्तै राख्ने चिन्ता बढाएको हो । पर्यटकमाझ सचेतना जगाउनलाई साउन दोस्रो साता पाखाथरदेखि जल्पातालसम्म पदयात्रा गरिएको छ ।

ढोरपाटनको प्राकृतिक विविधतालाई दुरुस्तै जोगाइराख्ने चुनौती पनि थपिएपछि सचेतना फैलाउनुपरेको गिफ्ट ढोरपाटनकी अध्यक्ष रमिता पुनमगरले बताइन् । पर्यटकको चापसँगै प्लाष्टिकजन्य फोहोर बढेको उनको भनाइ छ । ‘जलवायु परिवर्तन र पर्यटकका गतिविधबाट जोगाएर भावि पुस्तालाई ढोरपाटन दुरुस्तै हस्तान्तरण गर्नुपर्नेछ’, उनले भनिन् ।

पर्यटकमाझ सचेतना फैलाउन पर्यटककै सहारा लिएको पुनले बताइन् । ‘वातावरणसँगै यहाँको जैविक विविधता संरक्षणमा पर्यटक र स्थानीय एकजुट हुनुपर्नेछ’, उनको भनाइ छ ।

प्रतिक्रिया