जो ड्रागनफ्रुटका काँडासँग रमाएकी छन्

  सम्पादक | ९ भाद्र २०८२, सोमबार १०:११

तनहुँ

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा सेताम्मे भएर ड्रागनफ्रुटका फूल मुस्कुराइरहेका छन् । पाकेका ड्रागन फलमा राताम्मे लाली चढेका छन् ।

ड्रागनका पारखीहरु माँ अम्बे अलौकिक कृषि फार्ममा फलेका ड्रागन किन्नलाई बगानसम्म ओहोरदोहोर गरिरहन्छन् । फार्ममै पुगेपछि उनीहरुले रोजीछोडी खरिद गर्न पाउछन् ।

फार्मकी सञ्चालिका कल्पना गौली मुस्कुराउँदै काँडाको बीचमा फलेका ड्रागन टिप्छिन् । काँडाले घोच्दा उनलाई दुख्दैन । न त उनी ‘ऐया’ भन्छिन् । मुस्काउँराउदै उनी काँडाले पनि प्रेम गरेको ठान्छिन् ।

हरेक दिन लटरम्म फूलेका फलेका काँडे बोटबीच उनी ध्यानमग्न हुन्छिन् । कहिले बोटसँग घण्टौ गफिन्छिन् त कहिले माटोसँग । बगानभित्रै घण्टौं रमाएर बिताइदिन्छिन् । किनकी यो ड्रागनफ्रुट खेतीसम्म उनलाई आध्यात्मिक साधनाले डो¥याएर ल्याइपु¥याएको हो ।
अध्यात्ममा तल्लिन उनलाई तीन वर्ष पहिले एकान्तमा बसेर साधना गर्ने रहर पलायो । ‘प्रकृतिसँग खेल्दै साधना गर्न पाए त मोक्ष मिल्थ्यो होला’, उनको मनबाट पसेर मडारिन थाल्यो । त्यसपछि उनले साधनाका लागि कृषि कर्म गर्नलाई फार्म दर्ता गराइन् ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोंच बनाएपनि उनलाई पानी पर्याप्त नहुने भयो । साथीसँगै ढोडेनीको ९ रोपनी जग्गा २० बर्षका लागि भाडामा लिएर कृषि कर्मको यात्रालाई अझ भरपक्का गरिन् ।

कृषि कर्म गर्ने योजनालाई मूर्तरुप दिनेबेलासम्म पनि के लगाउने ? के फलाउने ? कल्पनाले निक्र्यौल गर्न सकिनन् । च्याउ, फलफूल, मौरी, तरकारीमध्य कुनै एउटा कृषि कर्मलाई अपनाउने सुर थियो ।

संयोगवश कल्पनालाई चितवनमा जानपहिचानका एक किसानको ड्रागनफ्रुट बगान हेर्ने अवसर जु¥यो । ‘ड्रागन राम्रो हुदों रहेछ । नौंलो खेती पनि हो भन्ने लागेपछि फर्केर यो भिरालो जग्गा सम्माउन थालें’, उनले ड्रागनको खेती रोज्नुबारे बेलिविस्तार सुनाउन थालिन, ‘यसको औषधीय गुण पनि राम्रो । जस्तोसुकै बिरामीले खान हुने । बारीमा लगाउदा राम्रो पनि देखिने । साधना केन्द्र बनिसकेपछि साधकहरु आउनुभयो भने पनि आकर्षक देखिने ।’

भारतबाट बेर्ना मगाएर कल्पनाले ७ रोपनी जग्गामा गाँडेको ५२५ पोलमा ड्रागन लगाएकी छन् । दुई हजार एक सय बेर्ना ड्रागन लगाएकी हुन् । उनका अनुसार बगानसँगै गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ ।

बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । उनी भन्छिन्, ‘ड्रागन खेतीमा मात्रै ५० लाख रुपैयाँ लगानी हो । अरु संरचनाहरु बनाउन लागेको खर्च भएको छ । यसलाई पूर्णता दिने योजना ३ करोड रुपैयाँको हो ।’

गत वर्षदेखि कल्पनाले स्नेहपूर्व हुर्काएका ड्रागन फूलेर फल्न थाले । कल्पनाका अनुसार गत वर्ष फार्मबाट उत्पादित ड्रागनफ्रुट (सिउँडीफल), गिठ्ठा, ,सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको विक्रीबाट २० लाख रुपैयाँ आम्दानी भएको थियो । यसपालि चौंथो छिमलको ड्रागन बजारमा पु¥याउँदा उनको पोल्टामा ८ लाख ५० हजार रुपैयाँ आम्दानी भइसकेको छ ।

ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ । भन्छिन्, ‘हामी जहाँ पुग्छौं त्यहाँ राम्रो बजार पाएका छौं । बजारमा पनि व्यापारीले हाम्रो स्थानीय उत्पादन किन नबेच्ने भनेर बुझ्नुभएको छ र पहल गर्नुहुन्छ ।’ शतप्रतिशत जैविक भएकाले उपभोक्ता फार्ममै खरिद गर्न आउने उनको भनाइ छ । बिक्री भएको ४० प्रतिशत बगानमै आएर उपभोक्ताले लैजाने गौलीले उल्लेख गरिन् । ‘अहिले बजारको त्यति गाह्रो छैन् । तर, कुनै कुनै बेला जताततै धेरै फल फल्दा कर गरेर बेचेको जस्तो हुन्छ । साथी आएर किन्दिनुसन भन्छौं’, उनले भनिन् ।

कल्पनाले ड्रागनका बोटमा रसायनिक मल राखेकी छैनन् । रसायनिक विषादी पनि निषेध छ । जैविक मल र विषादी प्रयोग गर्छिन् । ‘साधना गर्ने मान्छेले विहान उठेर भवगानलाई अर्पण गर्छु । अर्पण गरेपछि प्रसाद आफैंले खानुप¥यो । म जुन मार्गमा छु त्यो मार्गमा अजैविक प्रयोग गर्न पाइन्छ जस्तो लाग्दैन’, कल्पना अध्यात्मिक हुदैं भन्छिन्, ‘भगवानलाई अर्पण गर्ने बेलामा विषादी भएको फलफूल कसरी दिने ? छुट्टै भगवानका लागि रोप्ने कुरा पनि त भएन । सबैलाई विक्री पनि गर्न रसायनिक विषादीरहित बनाए ।’
प्रकृति पुजकले माटो, हावा र पानीको पनि ख्यार्ले राख्नुपर्ने उनको तर्क छ । विषादी बढी सेवन गर्दा मान्छे जसरी बिरामी पर्छ माटो पनि त्यसैगरी बिरामी पर्नेमा उनी बडो सचेत छिन् । ‘प्रकृतिलाई विषादीले कति दूखेको होला । तिनको मर्म पनि बुझ्न प्रयत्न गरें’, गौली थप्छिन्, ‘प्रकृति, बोटविरुवालाई पनि दूखेको हुन्छ । मात्र हामीले झैं व्यक्त गर्न सक्दैनन् ।’

१६ वर्ष शिक्षण र १५ वर्ष बुटिक पेशा गरेपछि कल्पनालाई कृषि कर्मले निकै तान्यो । ड्रागन खेती लगाउनु पहिले उनको पौरखले दमौली बजारस्थित घरको छतमा रहरलाग्दो गरेर तर्लयाङतुर्लुङ तरकारी फलाउथिन् । कौशीको चौघेरोमा सीमित उनको परिश्रमले दमौली बजारका घरवालालाई कौशीमा तरकारी फलाउने प्रेरणा दिलायो ।

पछि उनले अध्यात्मलाई कृषिसँग जोडेर साधना गर्न ड्रागन खेती गरेकी हुन् । अहिले आम्दानीको १० देखि २० प्रतिशतसम्म तत्कालै समाजसेवामा खर्चन्छिन् । कहिले ड्रागन गौसंरक्षणमा लगेर गाईलाई खुवाउछिन् त कहिले आश्रमहरुमा पुगेर चखाउछिन् । उसो त उनी ड्रागन बिक्रीबाट भएको आम्दानीले किसानलाई सम्मान गर्न पुग्छिन् ।

भौतिक सुखसयल भन्दा श्रमको साधनामा समर्पित कल्पनाको ड्रागनफ्रुटको खेतीले आय मात्र दिएको छैन, जीवनदर्शन दिएको छ । उनले गरेको पौरखको खेती जीविकोपार्जनभन्दा परको कुरा हो । यो हो, ‘अध्यात्म र माटोसँगको स्पर्श । पौरखले दिएको सन्तुष्टि ।’

प्रतिक्रिया