पोखरा
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अब बिरामीले प्रत्येक परीक्षणको फाइल बोकेर हिँड्ने बाध्यताको अन्त्य भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणालीको सुरुवात भएको हो ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा सञ्चालनमा ल्याइएको विद्युतीय चिकित्सा अभिलेख प्रणालीको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्बाजिराब पाण्डवले उद्घाटन गरे ।
यो प्रणालीको गत जेठ १४ गते परीक्षण अभ्यास गरिएको थियो । परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइको हो । अबदेखि बिरामीको कागजमा तयार पारेर दिइने अभिलेख कम्प्युटरमार्फत उपलब्ध हुनेछ ।
बिरामीले अस्पतालमा नाम दर्ता गराएपछि फार्मेसीबाट औषधि लिएर बाहिरने बेलासम्मको अभिलेख कम्पयुटरमै रहने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । ‘यो प्रणालीले बिरामीको अघिल्लो पटक जाँच गरिएका सबै रिपोर्ट कम्पयुटरमै उपलब्ध गराउनेछ’, उनले भने ।
विश्व स्वास्थ्य संगठनले विद्युतीय चिकित्सा अभिलेख प्रणालीका लागि आवश्यक पर्ने डेक्सटप, प्रिन्टर, टावर सर्भिस, ट्याबलेटसहित गरेर ३३ लाख २७ हजार ७९३ रुपैयाँ बराबरका सामग्री दिइएको हो । थप आवश्यक पूर्वाधार, सामाग्री र कर्मचारीको क्षमता विकास अस्पताल आफैंले गरेको छ । ‘यो प्रणालीले टिकट काउण्टर र ल्याबमा कामको भार कम गराउनेछ’, कार्यकारी निर्देशक श्रेष्ठको भनाइ थियो ।
एक्सरेको रिपोर्ट पनि डाक्टरकै कम्प्पुटरमा देखिने भएकाले बिरामीले तिर्नुपर्ने शुल्कमा पनि कटौती हुनेछ । यो सेवालाई अब देशैभर विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए । देशका जुनसुकै अस्पतालमा पुग्दा पनि कागजमा रिपोर्ट बोकेर हिँड्न नपर्ने गरी एकीकृत सेवाको विकास गर्ने उनको भनाइ छ ।
‘पोखराको अस्पतालमा गएर देखाउनलाई एउटा नम्बर हुनेछ । त्यो नम्बरले जहाँको रिपोर्ट पनि हेर्न मिल्छ’, उनले भने, ‘अहिले ठ्याक्कै यहाँको रिपोर्ट अन्त हेर्न मिल्ने भैसकेको छैन् । तर, अबको तीन महिनाभित्र हुन्छ ।’ केही अस्पतालमा विश्व स्वास्थ्य संगठनमार्फत र अन्य अस्पतालमा स्वास्थ्य मन्त्रालयले बजेट सुनिश्चित गरेर सबैमा यो प्रणाली लागू हुने मन्त्री पौडेलको दाबी छ ।
यो प्रणालीमा बिरामीको रोग, विगतको चिकित्सा इतिहास, खोप, रोगको निदान, औषधि, उपचार, रेडियोलोजी, प्रयोगशाला परीक्षण लगायतका आवश्यक सबै विवरण समावेश हुनेछ ।
प्रतिक्रिया