पोखरा
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बालबालिकालाई रुची भएको विषयमा परिवारले साथ दिनुपर्ने बताएकी छन् । परिवारको समर्थनबिना लक्ष्यमा पुग्न नसकिने उनको भनाइ छ ।
मंगलबार तनहुँमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी नगरपालिका–४ ले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले समाजका तर्कहरु कहिलेकसो नसुनेजस्तै गर्नुपर्ने उल्लेख गरिन् ।
बाल्यकालमा मोजाको भकुन्डे खोल्दा परिवारले दिएको साथलाई स्मरण गर्दै उनले भनिन्, ‘समाजबाट नकरात्मक तर्कहरु आउन सक्छन् । ती तर्कहरु सुनेर पनि नसुनेको जस्तै गर्दिनुपर्छ ।’ सही बाटोमा हिँडेको बेला बालबालिकाको रुची अनुसार अगाडि बढ्न दिनुपर्ने उनको भनाइ थियो ।
‘मलाई मेरो बुबाममीले खेलको लागि कहिल्यै पनि रोक्नुभएन । तर, काम सकाउनुपथ्र्यो घरको’, सावित्रा भन्छिन्, ‘काम सकेपछि जहाँ जानपनि छुट थियो ।’
खाली खुट्टा मोजाको बल खेलेर आफूले सुरुवात गरेको उनको भनाइ थियो । ‘म काठमाडौं जाने अघिल्लो दिनसम्म पनि जुत्ता थिएन । मोजाको बल छाडेर गाउँबाट विदा भएकी थिए । त्यो अवस्थादेखि आजको ठाउँमा आइपुगेको छु’, बालबालिकालाई प्रेरित गर्दै उनले सुनाइन् ।
समाज परिवर्तनका लागि पहिला आफू परिवर्तन हुनुपर्ने साम्बाले सुझाइन् । सामाजिक सञ्जाल र मोबाइलबाट बालबालिकालाई टाढा राख्नुपर्ने उनले बताइन् । कार्यक्रममा साम्बासँग तस्बिर खिचाउने र हस्ताक्षर लिने बालबालिकाको भीड नै लागेको थियो ।
प्रतिक्रिया