सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।
हिजो भएको भेटवार्तामा उनीहरूबीच झन्डै आधा घण्टा एक्लाएक्लै छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालय जनाएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सृदृढ गर्ने विषयमा कुरा राखेको बताइएको छ ।
जवाफमा रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए ।
राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिएकोमा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गरे ।
उनले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेको उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे ।
साथै उनीहरुबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।
प्रतिक्रिया