एभरेष्ट भलिबल लिगः कर्णाली र ललितपुरको सुखद सुरुआत

  सम्पादक | २० भाद्र २०८२, शुक्रबार १२:४१

पोखरा

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविस र ललितपुर क्विन्सले सुखद सुरुआत गरेका छन् । शुक्रबारदेखि पोखरामा सुरु लिगमा कर्णाली यशविसले पोखरा निन्जाजलाई र ललितपुर क्विन्सले मधेश युनाइटेडलाई पराजित गर्दै सुखद सुरुआत गर्न सफल भएका हुन् । यी दुवै टोलीले ३ अंक बटुलेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली यशविसले सुखद सुरुआत ग¥यो । कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमै पाखा लगाएको हो ।

पोखरा रंगशालाको बहुउदेश्यीय कभर्डहलमा भएको खेलको पहिलो सेट गत संस्करणको विजेता कर्णाली यशविसले २५–२१ को जीत दर्ता गरायो । दोस्रो सेट २५–२० मा गुमाएको पोखराले तेस्रो सेटमा झनै कमजोर प्रर्दशन गर्दा कर्णालीले २५–१४ को जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

पोखरा विरुद्ध जित निकालेको कर्णालीकी एभानजेलिया छन्तावा प्लयेर अफ दि म्याच घोषित भइन् ।

दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश यूनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गत संस्करणमा एक खेलमा पनि जित हात पार्न नसकेको मधेश विरुद्ध मैदान उत्रिएको ललितपुरले पहिलो सेटमा २५–१७ को जित निकाल्न सफल भयो ।

गत संस्करणको उपविजेता ललितपुर सामु मधेश दोस्रो सेटमा झनै कमजोर देखियो । दोस्रो सेटमा २५–१३ को जित निकालेको ललितपुरले तेस्रो सेटमा २५–१९ को जित निकाल्दै सुखद सुरुआत गरेको छ । ललितपुर क्विन्सकी वारान्या श्रीलाओङ प्लयेर अफ दि म्याच घोषित हुदै १० हजार रुपैयाँ हात पार्न सफल भइन् ।

शनिबारको पहिलो खेल दिउँसो १ बजे ललितपुर क्विन्ससँग गत संस्करणमा तेस्रो बनेको काठमाडौं स्पाइकर्सले भिड्नेछ । दिउँसो ३ बजे हुने दोस्रो खेलमा कर्णाली यशविस र लुम्बिनि लाभाजले मैदान साट्नेछन् । साँझ ५ बजे मधेश युनाइटेड र पोखरा निन्जाजबीच हुनेछ ।

लिगमा कर्णाली यशविस, पोखरा निन्जाज, ललितपुर क्विन्स, मधेश युनाइटेडसँगै काठमाठौं स्पाइकर्स र लुम्बिनी लाभाज गरेर ६ टोली सहभागी छन् ।

पहिलो संस्करणमा सहभागी गण्डकी थण्डर्सको स्थानमा यो पटक पोखरा निन्जाज सहभागी भएको हो । यस्तै चितवन शक्ति नखेल्दा लुम्बिनी लाभाज पनि नयाँ टोलीको रुपमा सहभागी भएको छ ।

लिगको अंक तालिकाका शीर्ष दुई टोलीबीच भदौ २८ गते फाइनल भिडन्त हुनेछ ।

प्रतिक्रिया