पोखरा
जिल्ला प्रशासन कार्यालय कास्कीले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेकी हुन् ।
जेन–जी पुस्ताको आन्दोलनले पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा र झडपका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको शर्माले जानकारी दिइन् ।
उनका अनुसार शहिदचोक आसपासका क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ । सहिदचोकको पूर्वतर्फ वाइचोकसम्म, पश्चिमतर्फ फिस्टेलगेट बैदामसम्म, दक्षिणतर्फ राष्ट्रबैंकचोक, नेपाल पर्यटन वोर्डको कार्यालय अगाडी ड्यामसाईडसम्म र उत्तरतर्फ मालपोत कार्यालय कास्कीसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुनलाई रोक लगाइएको छ । अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्नलाई पनि प्रशासनले रोक लगाएको छ ।
‘आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ’, जिल्ला प्रशासनले जारी गरेको आदेशमा भनिएको छ ।
प्रतिक्रिया