

भवन जलेपछि कहाँबाट सेवा दिदैछ पोखरा महानगरले ?
पोखरा
पोखरा महानगरपालिकाले असोज १ गतेदेखि सेवा सुचारु गर्ने भएको छ । जेन–जी प्रदर्शनकारीले न्यूरोडमा रहेको महानगरपालिकाको मुख्य प्रशासनिक भवनमा आगो लगाएदिएपछि जलेर ध्वस्त भएको छ ।
महानगरको प्रशासनिक भवनको भौतिक संरचना र जिन्सि सामाग्री नष्ट भएपछि अहिले सेवा बन्द छ । आगामी बुधबारदेखि विभिन्न स्थानबाट महानगरले सेवा सुचारु गर्न लागेको हो ।
पृथ्वीचोकमा रहेको दमकलको भवनमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङको कार्यकक्ष बनाएर सेवा दिइने महानगरपालिकाले जनाएको छ । दमकलबाटै प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन, सरसफाई र सूचना प्रविधि शाखा खडा गरेर सेवा दिइनेछ ।
सभागृह चोकमा रहेको पोखरा सभागृहमा पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहनेछ । प्रशासन, राजस्व र सहरी विकास महाशाखाको सेवा अब पोखरावासीले सभागृहबाट पाउनेछन् । भण्डार, तथ्याङ्क, उजुरी फस्र्यौट, विपद्, अभिलेखीकरण, पञ्जीकरण र लेखा शाखासँगै महानगरीय प्रहरी बल पनि सभागृहमा रहनेछ ।
ड्यामसाइडमा रहेको शिक्षा महाशाखामा आर्थिक प्रशासन महाशाखा र कोष प्रशासन शाखा रहेको छ । यहाँ सहकारी शाखा, श्रम तथा रोजगार शाखा र व्यवसाय प्रबद्र्धन केन्द्रलाई लगिनेछ ।
सामाजिक विकास महाशाखाले सृजनाचोकमा रहेको पूरानो आफ्नै भवनबाट सेवा दिनेछ ।
न्यूरोडमा रहेको पूर्वाधार महाशाखामा योजना, आन्तरिक लेखा परीक्षण, भूमि प्रशासन, खरिद शाखा रहनेछन् ।
जेनी–जी प्रर्दशनमा पोखरा महानगरपालिकासँगै सहरी क्षेत्रमा रहेका अधिकांश वडा कार्यालय पनि जलेका छन् । अहिले वडा कार्यालयहरु स्थानीयवासीको ढाडसमा सरसफाई गर्न जुटेका छन् । प्रदर्शनकारीले मेयर धनराज आचार्यको घरमासमेत आगो लगाएका थिए ।