जेन–जी प्रदर्शनले क्षति भएका कार्यालयमा मुख्यमन्त्री पाण्डेको निरीक्षण (तस्बिरहरु)

पोखरा

जेन–जी समूहको प्रदर्शनका क्रममा क्षति भएका कार्यालयहरुको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् । आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् ।

पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरा, मुख्यमन्त्री निवास लगायत क्षतिग्रस्त स्थानको निरीक्षण गरेका हुन् । भदौ २३ र २४ गते भ्रष्टचार विरुद्ध जेन–जी समूह प्रदर्शनमा उत्रदा मुख्यमन्त्री पाण्डे युनाइटेड अरब इमिरेट्स थिए । मंगलबार पोखरा आइपुगेका उनी आन्दोलनका क्रममा भएका क्षतिको निरीक्षण गरेका छन् ।

निरीक्षणपश्चात पुननिर्माणमा जुट्न उनको आग्रह छ । पुननिर्माणमा सकेको सहयोग गर्न आम नागरिकसमक्षसमेत उनको आग्रह छ । ‘नागरिकको सेवालाई ध्यान दिँदै प्राथमिकताका आधारमा काम सुरु गरेका छौं । सहज सेवा प्रदान गर्नतर्फ प्रदेश मातहतका कार्यालयलाई सक्रिय बनाइसकिएको छ’, उनले भने ।

जेन–जीको आन्दोलन भड्काएर ध्वंश गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । युवाहरुको जायज मुद्धा र मागका सन्र्दभमा सबै तहका सरकार गम्भिर हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । प्रदेश मातहतका भौतिक संरचना पुननिर्माणको विषयमा संघ सरकारले लिने नीति र प्रदेशलाई दिने बजेट अनुसार थप योजना बनाएर अघि बढ्ने उनले बताए ।

जेन–जीको प्रदर्शनका क्रममा गण्डकीमा मुख्यमन्त्रीको कार्यालय निवाससहित ६ मन्त्रालयमा आगजनी र तोडफोड भएको छ । जेन–जीले मच्चाएको विध्वंशबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा भने क्षति भएको छैन ।

प्रदेश सरकार र मातहातका कार्यालयका ४३ वटा चारपांग्रे सवारी प्रर्दशनकारीले जलाइदिएको प्रदेश सचिव रमेश ढकालले जानकारी दिए । उनका अनुसार १०२ वटा दुईपांग्रे सवारी पनि जलेका छन् ।

पोखरामा प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्लास्थित सरकारी कार्यालय, पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालयहरु मात्रै नभइ व्यक्तिगत सम्पत्ति समेत जलेर नष्ट भएका छन् । होटल, रेष्टुरेन्ट, सवारीका सोरुम पनि प्रर्दशनकारीले जलाइदिएका हुन् ।

जेन–जी प्रदर्शनका क्रममा पोखरामा तीन जनाले आगोमा जलेर ज्यानसमेत गुमाए ।