प्रधानमन्त्रीलाई नारायणकाजीको सुझावः निर्वाचन एक दिन धकेल्न मिल्दैन

काठमाडौं

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचनको मिति एक दिन पनि धकेल्न नमिल्ने बताएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री शुसिला कार्कीले विविसी नेपाली सेवामा दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाउदै श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।

उनले माओवादी पनि फागुन २१ मा निष्पक्ष निर्वाचन गराएर अन्तरिम सरकारलाई सफल बनाउन लागेको दाबी गरे । तर, प्रधानमन्त्री कार्की नै यो विषयमा स्पष्ट, दृढ र गम्भीर हुनुपर्ने उनको भनाइ छ । समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलित भइ सार्वभौमिकता, संविधान र लोकतन्त्रलाई कमजोर पार्ने काम हुने भएकाले गम्भिर बन्न श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘विविसी नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुन सक्छ भन्नुभएको छ । तपाईंलाई त्यो कार्यादेश छैन । निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन’, चेतावनिसहित नारायणकाजी लेख्छन्, ‘तपाईंले अहिलेदेखि त्यसरी सोच्नु र सार्वजनिकसमेत गर्नु घातक सवित हुन सक्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर संकटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस । अन्यथा सोच्न, गर्न मिल्दैन ।’

अन्तरिम सरकारको मुख्य कार्यभार घोषित मितिमौ आम निर्वाचन गराउने रहेको उनले स्मरण गराएका छन् । माओवादी अन्तरिम सरकारको उदेश्य सफल पार्न प्रतिबद्ध रहेको श्रेष्ठले दोहो¥याएका छन् ।

कार्कीले प्रधानमन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन गरेको औल्यांएका छन् । ‘राष्ट्रपतिले तपाईंलाई सबै राजनीतिक दलहरुको तर्फबाट एक–एक जना व्यक्ति सरकारमा प्रतिनिधित्व गराउन सल्लाहा दिनु भएको र आफूले नमानेको उल्लेख गर्नुभएको छ’, उनी भन्छन्, ‘विषयको हिसाबले म प्रधानमन्त्रीज्यूसँग सहमत छु । मैले मन्त्रिपरिषद्मा मन्त्रीहरु थप गर्नु अघि सार्वजनिक रुपमा नै राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, स्वच्छ, देशभक्त एवं क्षमतावान व्यक्तिहरूलाई सामेल गरेर छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस भनेको पनि थिए । तर राष्ट्रपतिले तपाईंलाई सल्लाहा दिनुभएको कुरा त्यसरी हलुका रुपमा सञ्चार माध्यममार्फत सार्वजनिक गर्न मिल्दैन ।’

प्रधानमन्त्री कार्कीलाई के बोल्ने के नबोल्ने विषयमा गम्भीर ध्यान दिन सुझाव दिएका छन् । ‘…प्रधानमन्त्री जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्ने हुन्छ । कम बोल्नुस् । काममा केन्द्रित हुनुहोस्’, उनको सुझाव छ, ‘बोल्नै पर्दा पनि गलत नबोल्नुहोस् । गल्ती बोलेको कुरा सच्याईहाल्नुस र अब आइन्दा त्यस्तो गल्ती नदोहो¥याउनुहोस् । ’