Posts By सम्पादक

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको मन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए ।

मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

अमेरिकी डलरको भाउ फेरि उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यसअघि असोज ३० गते पनि यहीं उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको थियो । पटक पटक अमेरिकी डलरले सो विन्दुमा टेवा लिए पनि आगामी दिनमा नयाँ रेकर्ड नै बनाउन सक्नेछ । डलरको मूल्यवृद्धि हुनु भनेको भारतीय मुद्रा कमजोर हुँदा सो मुद्रासँग स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा कमजोर हुनु हो ।

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ ।

जाडोको तीन महिना सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

घट्यो दसैंका लागि ल्याइएको खसी-च्यांग्राको भाउ

दसैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रूपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन्।

दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्रा आजबाट किलोमा दुई सय ५० रूपैयाँ घटाइएको छ। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्यांग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रूपैयाँमा बिक्री थालिएको व्यापारीहरूले बताए।

बझाङबाट ल्याइएको नेपाली च्यांग्रा प्रतिकिलो नौ सय रूपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्यांग्रा प्रतिकिभक्तपुरको सल्लाघारीमा दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन्।लो एक हजार एक सय रूपैयाँमा बिक्री भइरहेको छ।

च्यांग्रा व्यापारी उत्तम खड्गीका अनुसार मुस्ताङमै महँगो तिर्नुपरेकाले च्यांग्राको मूल्य बढेको थियो। तर आजबाट मूल्य घटाएको उनले बताए।

‘चीनबाट ल्याइएको च्यांग्रा नेपाली व्यापारीले मुस्ताङबाट किन्दा किलोमा नभइ गोटामा हिसाब हुन्छ। गोटाको ३५ हजारदेखि ४० हजारसम्म रूपैयाँ तिर्नुपरेकाले यस वर्ष च्यांग्रा महँगो भएको हो।’

अर्का व्यापारी रमेश खड्काले भेडाको पनि मूल्य घटाएर प्रतिकिलो ६५० रूपैयाँमा बिक्री गरेको बताए।

राष्ट्रसंघले भन्यो– गाजामा अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भइरहेको अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले नागरिकलाई ‘मानव ढाल’को रूपमा प्रयोग गरेको र दक्षिणी गाजामा इजरायलले गरिरहेको बमबारीको निन्दा गरेका छन् ।

राष्ट्रसंघका प्रमुख गुटेरेसले इजरायलमा हमासको हमला बिनाकारण नभएको टिप्पणी गरेपछि इजरायली कुटनीतिज्ञहरुले आलोचना गर्दै उनको राजीनामाको माग गरेका छन् ।

यसबीच मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा  इजरायल–गाजा युद्धलाई लिएर पहिलोपटक खुला बहस भएको छ । बहसमा गाजामा भइरहेको ठूलो विनाश र बढ्दो मानवीय क्षतिका बेला सहायता पुग्नुपर्ने र तत्काल युद्धविराम हुनुपर्ने आह्वान सदस्यले गरेका छन् ।

करिब ९० देश वक्ताको रुपमा रहेको र ३० देशका विदेशमन्त्री सहभागी बहसमा वाशिंगटन भने युद्धविरामको पक्षमा उभिएन ।वाशिंगटनले अमेरिका मानवीय ‘पज’को पक्षमा रहेको बताएको छ ।

दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर

काठमाडौँ । दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ ।

 

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरूबाट विना अवरोध विद्युत् उत्पादन हुने गरेको छ ।

प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिक रूपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रूपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

दशैंको टीका हिड्नेहरुको भीडले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त

धादिङ– विजया दशमीको टीका थाप्न मान्यजन र आफन्तकोमा पुग्नेहरूको धादिङबेसीमा खचाखच भीड लागेको छ ।

दशैं मनाउन ग्रामीण बस्तीहरु पुगेर शहर फर्किने र टिका थाप्न हिड्नेको भीडले पुछारबजार क्षेत्रको ट्राफिक व्यवस्थापननै अस्थव्यस्त बनेको छ । छिनछिनमै बढ्ने मानिसहरुको भीड र सवारीको चापले व्यवस्थापन हम्मेहम्मे बनिरहेको छ ।

दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको भीडले पृथ्वी राजमार्गमा पनि सवारीको चाप बढेको छ । चार पाङ्ग्रे तथा दुई पाङ्गे निजी सवारी र सार्वजनिक सवारीको चाप विहानैदेखि बढेको ट्राफिक प्रहरीको भनाई छ ।

निधारमा रातो टीका लगाएर सपरिवार हिड्नेहरुको संख्या अत्याधिक देखिएको छ । दशैं मान्न घर आएको बेला झोलाभरी गाउँको कोसेली बोकेर फर्किनेहरुको संख्या पनि उल्लेख्य छ ।

आइसिसी एकदिवसीय क्रिकेटमा भारतको लगातार जित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले लगातार चार खेलमा जित निकालेको छ।

बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गर्‍यो। पुनेमा बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

भारतको जितमा प्लेयर अफ दि म्याच विराट कोहलीले नटआउट १०३ रन जोडे। उनले ९७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि कप्तान तथा ओपनर रोहित शर्माले ४८ रन र शुभमन गिलले ५३ रन जोडेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २५६ रन जोड्यो। बंगलादेशका लगि ओपनरद्वय तान्जिद हसनले ५१ रन र लिन्टन दासले ६६ रन जोडे।

बलिङमा भारतका जसप्रित बुमराह, मोहमद सिराज र रविन्द्र जडेजाले २(२ विकेट लिए।

अंक तालिकाको शीर्ष टिम भारतको ८ अंक छ भने बंगलादेशले चार मध्ये एक खेलमा मात्र जित निकाल्दै २ अंक जोडेको छ।

नेपाल पे इन्स्यान्टमार्फत् निःशुल्क फण्ड ट्रान्सफर गर्न सकिने

नेपालीहरूको महान पर्व दसैं तथा तिहारको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इन्स्यान्टमार्फत् निःशुल्क फण्ड ट्रान्सफर गर्न सक्नेछन्।

कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि उक्त अफर सार्वजनिक गरिएको हो।

नेपाल पे इन्स्यान्टमार्फत् ग्राहकहरूले बैंक/वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आइपिएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्सफर गर्न सक्दछन्।

हाल नेपाल पे इन्स्यान्टको सुविधा कनेक्ट आइपिएस बैंकका मोबाइल बैंकिङ एपहरू तथा सेल पे, हाम्रो पे र मोरु लगायतका वालेटहरूमा उपलब्ध रहेको छ।

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियोपसल एपमा रिलिज

काठमाडौँ- व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई चलचित्र छक्का पन्जा ४ र झिङ्गेदाउ नेपाली ओटिटि प्ल्याटफर्म भिडियोपसलमा रिलिज भएको छ । दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

दसैँको माहौल पनि रहेको साथै विदेशमा रहनु हुने दर्शकहरूबाट छक्का पन्जा ४ र झिङ्गेदाउको माग निकै उच्च रहेकोले चलचित्र रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउछ्न् ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखि ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

दशै घर जाने बाटो कतै धुलाम्मे कतै हिलाम्मे

पृथ्वी राजमार्ग बिस्तारको कामले दशैको बेलामा यात्रुहरूले सास्ती भोग्नु परेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा गनिन्छ।

घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको मा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ। काम सम्पन्न गर्नुपर्ने म्याद अझै थप्दा पनि प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ। अहिलेको समयमा ओहोरदोहोर गर्ने यात्रुहरूको चाप छ ।

सडक अवस्थाले समस्या खेप्नु परेको यात्रुहरू बताउँछन् । दशैको समयमा बर्सेनि काठमाडौँ बाट घर फर्किँदै आइरहेका दमौलीका रमेश ढकाल यो वर्ष निकै सास्तीका साथ यात्रा गरेको बताउँछन् । ‘ठेकेदारहरूको ढिला सास्तीले गर्दा समयमै घर नपुग्ने समस्या भएको छ,’ उनी भन्छन्, ‘पहिला मुग्लिन देखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकोमा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।’

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ।

यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

गोरखा दरबारबाट हनुमानढोका लगियो फूलपाती

गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । गोरखाबाट धादिङ र नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालक सहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

उनका अनुसार गोरखाबाट गएको टोलीले हनुमान ढोकाबाट जीवनपुर हुँदै आएको टोलीलाई भेटेर हस्तान्तरण गर्नेछ र उक्त टोली गोरखा फर्किने छ । ‘यो परम्परा निकै पुरानो छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो,’ उनले भने, ‘पहिले हिँडाएर लगिन्थ्यो । आजभोलि सुविधा आयो, गाडीबाट पठाइन्छ ।’

गाडीमा चण्डीस्थानको पुजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीलाई समेत पठाइएको छ । फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् । हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

काभ्रेमा राजस्व छलीको चिनीसहित ट्रक बरामद

जिल्लाको बनेपामा करिब ६ लाखबराबरको राजस्व छली गरी ल्याएको चिनीसहित ट्रक बरामद गरिएको छ । चिनीको बोरालाई धानको बोराले छोपी लुकाइछिपाई ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले अरनिको राजमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको ट्रकमा ५० किलोका ९२ बोरा अवैध चिनी बरामद गरेको छ ।

धुलिखेल–२ का ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना.६ख ६२१९ नंको ट्रकमा राजस्व छली गरी धानको बोराले छोपेको चिनी बरामद गरिएको थियो । सो चिनीलाई २८ बोरा धानले छोपी ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । ४२ हजारबराबरको धानको बोराले छोपेर ल्याएको चिनी खरिद गरेको चालक तिमल्सिनासँग कुनै पनि कागजात नरहेको श्रेष्ठले जनाएका छन् ।

अवैध चिनी ओसारपसार गर्न प्रयोग गरिएको ना.६ख ६२१९ नम्बरको ट्रक, चिनी र धान बरामद गरी चालक राजु तिमल्सिनालाई समेत पक्राउ गरी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएका छन् ।

एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए ।

डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरे । काठमाण्डौंस्थित होटल सोल्टीमा भएको ११ औं विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) निर्वाचित भए ।

यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् ।

यस्तै, युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए । सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए ।

यस्तै, उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) विजयी भए ।

यस्तै, ६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन् ।

यस्तै,महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् ।

संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।

यस्तै, सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरे । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन् ।

यस्तै,अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् ।

सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे ।

उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट एक मत पनि नआएपछि गणनाका क्रममा विवाद भएको थियो । आफूले हालेको भोट समेत विद्युतीय भोटिङ मेसिनमा नदेखिएको भन्ने उनको गुनासो थियो । निर्वाचन समितिले विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ निर्माणकर्तासँग यसबारे वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा प्रकाशिन गर्ने भन्दै राति नै विज्ञप्ति जारी गरेको छ ।