३१ वैशाख, काठमाडौं । नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)का स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
शाहीसहित १४ जनाविरुद्ध लोकसेवा ऐन र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेहरूमा लैनचौरमा रहेको अस्कल क्याम्पसका स्ववियु सचिव शाहीसहित सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका–१ का २० वर्षीय उमेश कुमार झा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २२ वर्षीय आकाश खड्का भनिने तिलक खड्का, जुम्लाको तिला गाउँपालिका–३ का २२ वर्षीय मुनबहादुर रावत, सुर्खेतको लेकबेशी नगरपालिका–५ का २२ वर्षीय मनोज शर्मा भनिने मनोज बाबु शर्मा, दोलखाको जिरी नगरपालिका–९ का २३ वर्षीय मोहन सुनुवार छन् ।
उनीहरूलाई ६ वैशाखमा प्रहरीले मध्य बानेश्वरस्थित रत्न राज्य क्याम्पसबाट पक्राउ गरेको थियो । त्यसबाहेकका आठ जनालाई भने फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।
फरार प्रतिवादीहरूमा सुर्खेतका २४ वर्षीय चित्रबहादुर बाठा, दैलेखको गुरास गाउँपालिका–८ का २० वर्षीय रविकिरण केसी, दैलेखकै भगवतीमाई गाउँपालिका–६ का २२ वर्षीय रमेश खड्का, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–४ का २० वर्षीय नवीन कुमार मल्ल, दैलेखकै गुरास गाउँपालिका–४ का १९ वर्षीय भुवन मल्ल, जुम्लाको तिला गाउँपालिका–३ का २३ वर्षीय वसन्त रावत, दैलेखकै २८ वर्षीय नारायण शाही भनिने नारायण कुमार तिरुवा र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का २८ वर्षीय सागर शर्मा छन् ।
मध्य बानेश्वरस्थित रत्न राज्य क्याम्पसबाट पक्राउ परेका शाहीसहितका ६ जना
प्रतिवादीहरूको काठमाडौंको जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्नेमध्येको एक आदेश आउने छ ।
यो पनि पढ्नुहोस
नक्कली परीक्षार्थी बनेका अस्कलका स्ववियु सचिव शाहीको आपराधिक कुण्डली
अनुसन्धानका क्रममा स्ववियु सचिव शाहीले चित्रबहादुर बाठाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएको खुलेको छ । उनले के कति रकम लिएर परीक्षा दिए भन्ने विषय भने खुलेको छैन ।
चित्रबहादुर बाठा फरार रहेकाले यो विषय खुल्न नसकेको प्रहरीको भनाइ छ । स्ववियु सचिव शाहीले प्रकाश शाहीमार्फत चिनजान भएका नारायण शाही भनिने नारायण कुमार तिरुवामार्फत आफूले बाठाको परीक्षा दिएको बयानका क्रममा बताएका छन् ।
तिरुवाले आफू प्रहरीको असई भएको, सबै विषय मिलाइसकेको र कुनै समस्या नपर्ने बताएपछि आफू परीक्षामा सहभागी भएको शाहीले बयानका क्रममा बताएका हुन् ।
परीक्षा नदिए विभिन्न मुद्दामा फसाउने धम्कीसमेत आफूलाई दिएपछि परीक्षा दिन तयार भएको शाहीले बताएका छन् ।
त्यसैगरी नवीन कुमार मल्लको नामबाट उमेश शर्माले परीक्षा दिएको पाइएको छ । रमेश खड्काको नामबाट तिलक खड्काले, बसन्त रावतको नामबाट मुनबहादुर रावतले परीक्षा दिएको खुलेको छ ।
रवीकिरण केसीको नामबाट मनोज शर्माले र भुवन मल्लको नामबाट मोहन सुनुवारले परीक्षा दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रेस्टुरेन्टमा बसेर यसरी बन्यो योजना
नक्कली परीक्षार्थी बनेर परीक्षा दिने विषयबाट काठमाडौं महानरपालिका–१६ मा रहेको चोपिला रेस्टुरेन्टमा योजना बनाएको खुलेको छ । यो रेस्टुरेन्टमा बसेर उनीहरूले योजना बनाउने कामदेखि प्रवेशपत्रमा अर्कैको फोटो टाँस गर्ने कामसम्म गरेका थिए ।
यो नक्कली परीक्षार्थी प्रकरणको मुख्य नाइके भने नारायण शाही भनिने नारायण कुमार तिरुवा र सागर शर्मा रहेको प्रहरीको भनाइ छ । उनीहरूले नै परीक्षा दिने नक्कली मान्छे खोज्ने र बार्गेनिङ गरेर मिलाउने गरेको पाइएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।
केही परीक्षा दिन नमान्नेहरूलाई भने धम्की समेत दिएको अनुसन्धानबाट खुलेको छ । एक, डेढ लाख रकम खर्च भइसकेको भन्दै उक्त रकमसमेत मुख्य गिरोहले मागेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अन्यले पनि बयानका क्रममा तिरुवाले आफू प्रहरीको असई भन्दै धम्की दिने गरेको बताएका छन् ।
चोपिला रेस्टुरेन्टका सुनिल पोखरेलले समेत पक्राउ परेकामध्ये केही व्यक्तिहरू आफ्नो रेस्टुरेन्टमा आएको भन्दै प्रहरीसमक्ष कागज गरिदिएका छन् । ‘उहाँहरू लगातार तीन दिन मैले काम गरेको क्याफेमा आएर खाजा खाने गरेका थिए । टेबलमा टेबलमा कागजपत्र हुने गर्थे,’ पोखरेलले गरेको कागजमा उल्लेख छ, ‘उनीहरूले के विषयका ती कागजपत्रहरू टेबलमा राखेर काम गरेका हुन् त्यो थाहा भएन ।’
नक्कली परीक्षार्थी बनेको अस्कलका स्ववियु सचिव शाही यसअघि पनि पटक–पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्ति हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध उनी गत २४ माघमा ठमेलमा ड्युटीको प्रहरी कुटपिटपछि पक्राउ परेका थिए ।
शाहीसहितको समूहले ड्युटीमा खटिएको प्रहरीलाई मध्यराति कुटपिट गरेको थियो । यो प्रकरणमा उनी १० हजार धरौटीमा रिहा भएका थिए । त्यसपछि स्ववियु सचिवको उम्मेदवार बनेको उनी निर्वाचित भएका थिए ।
शाहीविरुद्ध यसअघि २०७९ मा ज्यान मार्ने उद्योग, २०८० मा पनि ज्यान मार्ने उद्योग र २०८१ मा अभद्र व्यवहारको मुद्दा चलेको थियो ।
युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफै भने वार्तामा नजाने भएका छन्।
पुटिनले तेस्रो पक्षको मध्यस्थतामा भन्दा प्रत्यक्ष वार्ताबाट समस्या समाधान गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रस्ताव गरेका थिए।
उनले बिहीबार टर्कीको इस्तानबुलमा वार्तामा बस्ने प्रस्ताव गरेका थिए।
युक्रेनलाई प्रत्यक्ष वार्ता गरेर पुटिन आफै भने इस्तानबुल नजाने भएको क्रेमिलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
इस्तानबुल जाने वार्ता टोलीमा राष्ट्रपति पुटिनको नाम नरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
क्रेमलिनले तयार पारेको सूचीमा वार्ता टोलीको नेतृत्व पुटिनका मुख्यमध्येका सहयोगी तथा देशका सुप्रिम काउन्सिल ब्युरोका सदस्य भ्लादिमिर मेडिन्स्कीले गर्ने भनिएको छ।
युक्रेनबाट राष्ट्रपति भोलोदिमर जेलेन्स्की नेतृत्वकै प्रतिनिधिमण्डल जाने सम्भावना उच्च थियो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पुटिनले वार्ताको प्रस्ताव गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। सोही अनुसार जेलेन्स्कीले इस्तानबुलमा बिहीबार वार्ता गर्ने पुटिनको प्रस्तावलाई स्वीकार गरेका थिए।
वार्तामा दीगो शान्ति स्थापना र युद्धका मुख्य कारण पहिल्याएर त्यसको समाधान खोज्ने भनिएको थियो।
मंगलबार जेलेन्स्कीले वार्तामा युद्धविराम बाहेकका विषयमा छलफल नहुने बताएका थिए। लगत्तै पुटिनले पनि नयाँ युद्धविरामबारे छलफल हुनसक्ने भनेका थिए। तर युद्धको मुख्य कारण प्राथमिकतामा रहने भनेका थिए।
पुटिन आफै वार्तामा नजाने भएपछि इस्तानबुलका प्रस्तावित वार्ता नै अनिश्चित बनेको सिएनएनले जनाएको छ।
जेलेन्स्कीले आफू इस्तानबुल आउन तयार भएको तर रुसबाट पुटिन आफै सहभागी हुनुपर्ने बताएका थिए। उनले रूसका अरू प्रतिनिधिहरूलाई नभेट्ने पनि बताएका थिए। ‘रूसको सबै कुरा पुटिनमा निर्भर रहन्छ,’ उनले भनेका थिए।
खाडी मुलुकको भ्रमणमा रहेका ट्रम्पले युक्रेन र रूसको वार्तामा दबाब दिँदै परिस्थितिवश आफू सहभागी हुन नसकेको भनेका छन्। उनले आफ्नो उपस्थितिमा जेलेन्स्की र पुटिन दुवै खुशी हुने दाबी गरेका छन्। जेलेन्स्कीले वार्तामा ट्रम्प उपस्थित भए युक्रेन कृतज्ञ हुने भनेर ट्रम्पको भनाइमा सहमति जनाए।
तर प्रस्ताव गरे आफै वार्तामा नजाने भएपछि पुटिनको झुलाउने रणनीति पुनः एकपटक देखिएको बताए। यसले उनी शान्तिको पक्षमा नरहेको देखिएको पनि सिएनएनले लेखेको छ।
१ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।
२८ वैशाख, काठमाडौं । सत्ता गठबन्धनकै जग हल्लाउने आशंका गरिएको गभर्नर पदमा अन्ततः नयाँ नामको प्रवेशले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सुलह गराएको छ ।
त्यो नाम हो, प्रा. डा. विश्व पौडेलको, जसबारे यसअघि नै कांग्रेस सभापति देउवाले प्रस्ताव लैजान खोजेका थिए । तर त्यस बेला पौडेल नै इच्छुक देखिएका थिएनन् । र, त्यसका लागि उनले केही निश्चित कारणहरू दिएका थिए । चितवन- १ बाट २०७९ को आम चुनाव जित्ने तत्कालीन कांग्रेस उम्मेदवार पौडेलको अधुरो महत्वाकांक्षा तीमध्ये एक कारण हो ।
तर, यसअघि तयार पारिएका दुई नामबारे कांग्रेस-एमालेबीच साझा मत बन्न नसकेपछि उनै पौडेल अघि सारिएका छन्, जो यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका अर्थशास्त्री हुन् । कांग्रेसले प्रस्ताव गरे पनि पौडेलको नाममा एमाले नेतृत्व पंक्तिसमेत आश्वस्त देखिएको छ । अन्य कुरा यथावत रहेमा सम्भवतः उनी नै अब राष्ट्र बैंकको नेतृत्व सम्हाल्न पुग्नेछन् ।
यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, अनि कामु गभर्नर डा. निलम तिम्सिना ढुंगानाको नाम चर्चामा थियो ।
गभर्नर कांग्रेसको सिफारिसमा बनाउन समस्या नभए पनि डा. भट्टलाई नियुक्त नगर्ने अडान प्रधानमन्त्री ओलीले राखेपछि ढुंगानाको नाम पनि प्राथमिकतामै थियो । तर यी दुई नामले गठबन्धनभित्रै असमझदारी पैदा गर्ने देखिएपछि दुई शीर्ष नेता वैकल्पिक उम्मेदवार खोजेर भए पनि निकास दिन तयार भएका थिए ।
त्यस बेला गभर्नर सिफारिस समिति सदस्य रहेका प्रा. डा. पौडेललाई सो पदमा अघि सार्ने निर्णय देउवाले गरेका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गभर्नरमा डा. पौडेललाई अघि सार्ने संकेत गरे । ‘उहाँकै सम्भावना बढेको कुरो छ । उहाँको बारेमा बीचमा कुनै समस्या आउनु नपर्ने हो,’ महतले अनलाइनखबरसँग भने,‘उहाँ योग्य व्यक्ति नै हो ।’
माथि भनिएजस्तै यसअघि नै देउवाले डा. पौडेललाई गभर्नर बन्न प्रस्ताव गरेका थिए । तर आफू गभर्नरजस्तो नियामकीय भूमिकामा जानेभन्दा पनि पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्ने वा आगामी निर्वाचन लडेर त्यसपछि अर्थमन्त्री बन्ने इच्छा उनले व्यक्त गरेका थिए । पौडेलले जनतासँग प्रत्यक्ष जोडिने खालका योजनामुखी जिम्मेवारी पाए आफू बढ्ता खुसी हुने इच्छा पार्टी नेतृत्वसमक्ष राख्दै आएका थिए । त्यसपछि देउवाले डा. पौडेललाई सिफारिस समितिमा राखेका थिए ।
तर, डा. भट्टलाई नै गभर्नर बनाउन देउवाले शनिबार साँझसम्म गरेको प्रयासले पूर्णता नपाएपछि डा. पौडेलले सो जिम्मेवारी पाउन लागेका हुन् ।
‘शनिबार पनि सभापति देउवाले डा. भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए । तर राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा स्वीकृत नभएको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो नाम दिन अडान लिएका थिए,’ कांग्रेस स्रोतले भन्यो, ‘त्यसपछि देउवाले डा. पौडेलको नाम प्रस्ताव गरेका हुन् ।’
गभर्नरमा डा. भट्टलाई स्वीकार नगर्ने स्पष्ट सन्देश ओलीबाट पाएपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएर वैकल्पिक उम्मेदवार खोज्नुपर्ने बताएका थिए । बैठकका क्रममा नेताहरूले डा. पौडेललाई सो पदमा लैजानुपर्ने राय दिएका थिए ।
डा. शेखर कोइरालाले पनि डा. पौडेललाई गभर्नरमा अघि बढ्न सुझाव दिएका थिए । ‘तपाईं हुनुभयो भने पार्टीमा पनि सबैले स्वीकार गर्ने अवस्था बन्यो, बाहिर पनि अनुकूल हुने भयो,’ डा. कोइरालाले पौडेललाई भनेको कुरा उद्धृत गर्दै एक नेताले बताए ।
शनिबार ओलीसँगको सहमतिपछि देउवाले डा. पौडेललाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर उनलाई गभर्नर नियुक्त गर्न लागेकाले सिफारिस समितिबाट राजीनामा दिन भनेको स्रोतले उल्लेख गरेको छ । त्यसअनुसार डा. पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा बुझाइसकेका छन् ।
प्रा. डा. पौडेल अहिले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)का प्राध्यापक छन् । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बखत उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, इसिमोडको बोर्ड अफ गभर्नरको अध्यक्ष लगायत पदमा रहेर उनले काम गरिसकेका छन् ।
उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट विद्यावारिधि गरेका छन् ।
गभर्नरमा डा. भट्टलाई स्वीकार नगर्ने स्पष्ट सन्देश ओलीबाट पाएपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएर वैकल्पिक उम्मेदवार खोज्नुपर्ने बताएका थिए । बैठकका क्रममा नेताहरूले डा. पौडेललाई सो पदमा लैजानुपर्ने राय दिएका थिए ।
‘कांग्रेसले डा. भट्टलाई नै गभर्नर बनाउन एक महिनादेखि प्रयास गरिरहेको छ । तर कायम मुकायम गभर्नर ढुंगानाले राजीनामा स्वीकृत नगरेको बहानामा प्रधानमन्त्री ओलीले उनलाई नियुक्त गर्न मानेनन् । खासमा गभर्नरमा नियुक्तिका लागि कार्यकारी निर्देशकले राजीनामा दिनै नपर्ने हो । दिइसकेपछि स्वीकृत भो कि भएन भन्ने कुरा गौण हुने भए पनि ओलीले त्यसैमा टेकेर उनलाई पन्छाउन खोजे,’ एक कांग्रेस नेताले भने ।
प्रधानमन्त्रीले विकल्प दिन भनिरहेको अवस्थामा कांग्रेसमा दोस्रो अर्थशास्त्री नै नभएजस्तो गरी त्यसैमा नअड्किने मनसायमा सभापति देउवा पुगेको ती नेताले बताए ।
‘यस्तो अवस्थामा आफ्नो विश्वासपात्र डा. पौडेललाई अघि सारेर उनले अहिलेको डेडलकबाट अघि बढ्न चाहेका हुन्,’ उनले भने, ‘डा. भट्टलाई अन्य कुनै राम्रो पदमा व्यवस्थापन गर्ने गरी अहिले पौडेललाई अघि सारिएको हो ।’
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २३ चैत २०८१ मा सकिएको थियो । त्यसको एक महिना एक साता भइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।
‘कि ओलीसँग निहुँ खोजेर अर्को सरकार बनाउनेतिर लाग्नुपर्यो । पार्टीबाटै अर्को मान्छे बनाउँदा सहमति बन्ने अवस्थामा त्यो राजनीतिक जोखिम किन लिने भन्ने सभापतिको सोचाइ रहन गयो । यस्तो अवस्थामा उहाँले पौडेललाई अघि सार्नुभएको हो,’ कांग्रेसका अर्का एक नेता बताउँछन् ।
राजनीतिक दलको सदस्य भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नसक्ने प्रावधान भए पनि कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पौडेल यति बेला पार्टीका क्रियाशील सदस्य छैनन् ।
काठमाडौं विश्वविद्यालमा प्राध्यापन गर्न सुरु गरेसँगै पौडेलले कांग्रेसको सदस्यता त्यागेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । उनले भने, ‘दलमा आबद्ध व्यक्ति काठमाडौं विश्वविद्यालयको प्राध्यापक बन्न नपाउने रहेछन् । कांग्रेसको सदस्यता त्यागेर मात्रै उहाँ प्राध्यापक बन्नुभएको हो । कांग्रेस सदस्य नै नभएको व्यक्ति पार्टीको कुनै पनि जिम्मेवारीमा बस्न पाउँदैन ।’
डा. पौडेलले आफू जिल्ला सभापति हुँदा सदस्यता लिएको तर निर्वाचन पराजित भएपछि नवीकरण नगरेको जानकारी चितवन कांग्रेस पूर्वसभापति जीतनारायण श्रेष्ठले गराए । ‘म जिल्ला सभापति हुँदा क्रियाशील सदस्यता लिनुभएको थियो । चुनाव हारेपछि प्राध्यापनमा लाग्नुभयो । त्यसपछि नवीकरण गर्नुभएको छैन,’ उनले अनलाइनखबरसँग भने ।
कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणका लागि यही महिना (वैशाख १५ गतेसम्म) को समयवधि तोकेको थियो । त्यस अवधिमा पौडेलले नवीकरण नगरेको चितवनका कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।
सरकारले करिब १० चैत २०८१ मा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल र विजयनाथ भट्टराई सदस्य रहेकोमा भट्टराईले पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समिति सदस्यमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ । पौडेलले पनि सदस्य पदबाट राजीनामा दिएपछि अब अर्को सदस्य सिफारिस समितिमा नियुक्त गर्नुपर्ने छ । अबको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति सदस्य गर्ने र त्यसपछिको मन्त्रिपरिषद् बैठकले सम्भवतः गभर्नर नियुक्त गर्ने बालुवाटार स्रोतले बतायो ।
कसरी नियुक्त हुन्छन् गभर्नर ?
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ मा गभर्नरको नियुक्तिसम्बन्धी व्यवस्था छ । सो दफाको उपदफा १ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले गठन गरेको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ ।
त्यसरी गभर्नर सिफारिस गर्न अर्थमन्त्रीको अध्यक्षतामा राष्ट्र बैंकका पूर्वगभर्नरहरूमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति सदस्य भएको समिति मन्त्रिपरिषद्ले गठन गर्ने व्यवस्था छ ।
सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू वा डेपुटी गभर्नरहरूमध्येबाट तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने भन्ने व्यवस्था उपदफा ३ मा छ । त्यसरी सिफारिस भएका व्यक्तिमध्ये मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर पदमा नियुक्त गर्ने व्यवस्था सो दफामा छ ।
ऐनको दफा २० मा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनका लागि छुट्टै योग्यतासम्बन्धी व्यवस्था छ । सो दफामा कुन-कुन पदमा काम गरिसकेको व्यक्ति गभर्नर तथा राष्ट्र बैंकको सञ्चालक पदमा योग्य हुने भन्ने स्पष्ट परिभाषा गरेको छ ।
सो दफाको उपदफा १ मा गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक पदमा नियुक्त हुनका लागि नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने उल्लेख छ ।
त्यसका अतिरिक्त आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको व्यक्ति गभर्नर लगायत राष्ट्र बैंकको सञ्चालक पदमा नियुक्त हुन सक्ने व्यवस्था छ ।
यो दफाको कार्य अनुभवलाई राष्ट्र बैंक ऐनले नै परिभाषित गरिदिएको छ । सो परिभाषामा ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनुपर्छ, भनिएको छ ।
यसको अर्थ नेपाल सरकारको सचिव, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक वा त्यसभन्दा माथिल्लो पदमा काम गरेको व्यक्ति राष्ट्र बैंकको गभर्नर हुनसक्छ ।
अर्थमन्त्रालय सम्बद्ध पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ (दोस्रो) संशोधनमा सम्बन्धित कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कार्यकारी प्रमुखको हकमा स्नातकोत्तर उत्तीर्ण गरेपछि कम्तीमा ५ वर्षको अनुभव हुनैपर्ने र कार्यकारी प्रमुखबाहेकका पदमा स्नातकोत्तर उत्तीर्ण गरेपछि कम्तीमा तीन वर्षको अनुभव हुनै पर्ने व्यवस्था छ ।
यो मापदण्डमा यस्ता नियुक्तिका लागि ६५ वर्ष पूरा नभएको व्यक्ति हुनुपर्ने व्यवस्था पहिले भए पनि त्यसलाई हटाइएपछि यसबीचमा विवाद भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतमा रिट दायर भएकोमा उमेर हद हटाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।
धादिङ
राष्ट्रिय युवा संघ नेपाल सिद्दलेक गाउँपालिका कमिटिको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् ।
शनिबार सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर घले, सचिवमा सुजिता अधिकारी, कोषाध्यक्षमा कुमार सिलवाल, सहसचिवमा उमा गुरुङ चयन भएका छन् ।
पूर्व अध्यक्ष इश्वर सिलवालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा युवा संघ केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भुमी त्रिपाठी, युवा संघ धादिङका इन्चार्ज कमल सिलवाल लगायत सहभागी थिए ।
धादिङ
नेपाल उत्पीडित जातीय मुक्ति समाज त्रिपुरासुन्दरी गाउँपालिका कमिटिको अध्यक्षमा राजकुमार वि.क. चयन भएका छन् ।
शनिबार सीयानटारमा सम्पन्न पहिलो अधिवेशनले नयाँ कमिटि चयन गरेको हो । १८ सदस्यीय कमिटिको उपाध्यक्षमा कृष्ण बहादुर वि.क., सचिवमा मोशन वि.क., कोषाध्यक्षमा रोहित गैरे,सहसचिवमा प्रेम वि.क. र ज्योती सुर्खेती चयन भएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका स्थायी कमिटि सदस्य विष्णु बहादुर मिजारको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका इन्चार्ज खेम लोहनी, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं त्रिपुरासुन्दरी गाउँपालिका इन्चार्ज उमेश थापा, प्रदेश कमिटि सदस्य शम्भु थापा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवाय सदस्य कुमार, वि.क., केन्द्रिय सदस्य दिल बहादुर रम्तेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
काठमाडौं
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।
उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।
हिजो हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।
सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।
काठमाडौँ
पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गा प्रसाईँ फरार भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ । प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
प्रहरीका विभिन्न युनिटका अधिकृतहरूले उनको खोजी तीव्र बनाएका छन् । संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए । उनले भने, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ, आपराधिक काममा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउँछौँ ।’
काठमाडौं
काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौं
राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
हृदयदेखिको आभार !आदरणीय अग्रज !प्रिय साथीहरू !
यहाँहरूलाई थाहा छ, ‘श्रमजीवी पत्रकारहरूको गौरवमय संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।’ महाधिवेशन व्यवस्थापकीय हिसाबले सफलतापूर्वक सम्पन्न गराउनका लागि अहोरात्र खट्नुहुने व्यवस्थापन समितिका संयोजक तथा सचिव प्रिय साथी विक्रम लुइँटेल, प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरी सहित सबै साथीहरु, प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापा सहित सबै साथीहरु प्रति गहिरो सम्मान !
कोशी प्रदेश मेरो पनि गृह प्रदेश । मलाई विश्वास छ, ‘यहाँहरूको विराटनगर बसाइ सुखद रह्यो ।’ अनुरोध छ, ‘बसाइको क्रममा बटुल्नुभएका मिठा सम्झना मात्रै बोकेर जानुहोला, केही समस्या, जटिलता र असहजता भएका भए उतै सप्तकोशीमा बगाएर गइदिनुहोस् है ।’
प्रथमतः पार्टी नेतृत्वको निर्देशनअनुसार प्रेस चौतारी नेपालको नेतृत्वमा चुनिनुभएका साथीहरुको सपथ हुँदैछ । अध्यक्ष प्रिय साथी गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष कृपा भण्डारी, महासचिव हिरामान लामा, उपमहासचिव हरिवल्लभ नेपाल, सचिव विक्रम लुइँटेल, प्रदीप आचार्य, विष्णु तारुके, नरेश भण्डारीसहित सबै केन्द्रीय नेतृत्व, आयोगका अध्यक्ष र सदस्यहरूलाई हार्दिक बधाई ! सफल कार्यकालको अनेकन् शुभकामना । मेरो प्रतिबद्धता छ, साधारण सदस्यका रूपमा यहाँहरूलाई सफल बनाउन अधिकतम योगदान गर्नेछु ।
प्रिय साथीहरू,
मलाई लागेको थियो, ‘अब मैले भन्नुपर्ने केही छैन ।’
मैले भन्नुपर्ने जति सम्मानित बन्द सत्र हलमा भनेर आएको छु । हलमा मैले जे भनेँ, मेरो मान्यता त्यही हो । यस बीचमा आएका सयौं फोन, म्यासेजहरूको रिप्लाईबाहेक मैले केही भन्नुपर्छ भन्ने लागेकै थिएन । तर, अनायास यस्तो बाध्यता आइलाग्यो, मैले फेरि पनि केही भन्नुपर्ने भयो । तर, सवाल–जवाफ होइन है । यद्यपि, सार्वजनिक उत्तरका निम्ति फेरि पनि माफी चाहन्छु ।
संगठनको आन्तरिक जीवन हो । त्यही भएर मलाई लागेको थियो, ‘सप्तकोशी तरेर बागमती आएपछि सबै साथीले कोशीको कुरा सप्तकोशीतिर सबै बगाएर फर्किनेछौं ।’ तर, सप्तकोशी पार हुँदानहुँदै उचाइमा पु-याइएका मान्छेहरूकै कारण स्पष्ट पार्नुपर्ने बाध्यता आयो । मलाई लागेको थियो, ‘मेरो कारण सर्वसम्मत हुनु भएका प्रिय साथीले ‘प्रिय साथी धन्यवाद’ भन्नुहोला । हामीले निर्माण गरेको राजनीतिक संस्कार अनुसार भन्नु पर्ने धन्यवाद नै हो । तर हेर्नुहोस् त के भनिएको छ ?
यो असजिलोका लागि फेरि पनि क्षमा चाहन्छु । यो लेख्दै गर्दा मेरो अनुरोध छ, ‘यो मेरो स्पष्टीकरण अन्तिम हो । पार्टी, संगठन र आन्दोलनको प्रतिष्ठामा असर गर्ने गरी कसैले टिप्पणी नगरिदिनुहोला ।’
मेरो उम्मेदवारीको प्रश्न
प्रेस चौतारी नेपालको सांगठनिक जीवनको हिसाबले मैले मेरो जिन्दगीको दुई दशकभन्दा बढी (२२ वर्ष) खर्चिएँ । प्रेस चौतारी नेपालको धनकुटा सचिव, अध्यक्ष, तत्कालीन पूर्वाञ्चल सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारीमा थिएँ । संगठनका सबै तह र पदका जिम्मेवारी सम्हालेर अध्यक्षको दाबेदारी गर्ने तहमा पुगेको थिएँ।
अब १० औं राष्ट्रिय महाधिवेशनमा आइपुग्दा मसँग जम्मा दुईवटा बाटा अथवा रोजाइ थिए । पहिलो— अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने । दोस्रो, संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने । स्वाभाविक रूपमा मेरो पहिलो रोजाइ अध्यक्षको जिम्मेवारी लिएर संगठनको एक पटक नेतृत्व गर्ने थियो । संस्थापक पुस्ताले छोड्दै गर्दा स्वाभाविक रुपमा हामी ४ जना दाबेदार थियौं । प्रिय उपाध्यक्ष कमरेडहरू गणेश पाण्डे, सविन प्रियासन, देविका घर्तीमगर, म, महासचिव हिरामान लामा ।
चार उपाध्यक्षमध्ये उपाध्यक्ष गणेश पाण्डे कमरेडले (१८ फागुन २०८१) मा पार्टी प्रचार तथा प्रकाशन विभागको सचिवको जिम्मेवारी पाउनुभयो । त्यसअघि १६ फागुन २०८१ मा पार्टीका श्रद्धेय अध्यक्षसहित हाम्रो मोर्चाका इन्चार्ज, संयोजक र अध्यक्षसँग स्पष्ट रूपमा निर्देशित भएको तथ्यप्रति पनि हामी सबै जानकार छौं । धेरै भन्दिनँ । द्वन्द्वात्मक भौतिकवादका प्रवर्ग छन्— अनिवार्यता र आकस्मिकता । जस्तो कि, बच्चा जन्मिएपछि हुर्किनु, बढ्नु र परिपक्व हुनु अनिवार्यता हो । तर, दुर्घटनामा परेर बीचमै मर्नु आकस्मिकता । माक्र्सवादीहरूले आकस्मिकतालाई नियन्त्रण गरेर अनिवार्यतामा परिणत गर्नुपर्छ । हो, मैले आकस्मिकतालाई नियन्त्रण गर्न सकिँन । मेरो कमजोरी त्यही रह्यो ।
दुई उपाध्यक्ष सविन प्रियासन र देविका घर्तीमगर कमरेड नेपाल पत्रकार महासंघको मोर्चामा जानुभएको छ । अब रह्यौं, महासचिव हिरामान लामा कमरेड र म । महासचिव कमरेडले ‘तपाईं अघि बढ्दा म अटाउन सक्छु’ भन्नुभएको छ । यी सबै अवस्थामा अध्यक्षमा मेरो दाबी र जिम्मेवारी जायज र न्यायपूर्ण थियो । मेरो गहिरो विश्वास थियो, पार्टी नेतृत्वले न्यायको तराजु उचाल्नेछ । मलाई लागेको थियो, ‘केन्द्रीयता लागू गर्दा नेतृत्वले र जनवाद प्रयोग गर्दा प्रतिनिधिहरूले विवेक र न्यायपूर्ण निर्णय गर्नुहुनेछ ।’ तर बिडम्बना मेरो लागि दुबै बन्द गरियो ।
किन पछि हटेँ ?
हो, मैले त्यही आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेँ । सर्वसम्मति नजुटे मत विभाजनको लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनेछ भन्ने मेरो बलियो विश्वास थियो । मेरो उम्मेदवारीको निरूपण लोकतान्त्रिक विधिमार्फत हुन्छ भन्ने लागेको थियो । मैले प्रतिनिधिहरूलाई वाचा गरेको थिएँ, ‘कुनै करबल अथवा अलोकतान्त्रिक विधिप्रति कुनै सम्झौता हुने छैन।
हो, पार्टी, संगठन र मूल नेतृत्वको पक्ष वा विपक्षको भाष्य निर्माण गरेर मलाई माया गर्ने अग्रज र साथीहरूमाथि अकल्पनीय मात्रै होइन, कतिपय सन्दर्भमा अमानवीय व्यवाहार प्रर्दशन भयो । अग्रज र प्रतिनिधि साथीहरूका कुरा सुन्दा मनै अमिलो भयो । मनमा यति धेरै गाँठा परे, चोटका कति ज्वारभाटा उठे, यहाँ भनिसाध्य छैन । चोट र घाउको हिसाब गर्न समर्थ त्यस्तो कुनै गणित हुँदैन ।
आदरणीय अग्रज र प्रिय साथीहरू, मलाई समर्थन गर्दा तपाईंहरूले जुन अपमान बेहोर्नुभयो, मलाई माया गर्नुको जुन मूल्य चुकाउनुभयो, त्यसका निम्ति शिर झुकाएर माफी माग्छु । उहाँहरूका ती व्यवहारबारे मैले धेरै भन्नु छैन, कुनै दिन फर्केर उहाँहरू आफैंले आत्मसमीक्षा गर्नुहोला ।
मैले उम्मेदवारी घोषणा र निर्वाचनको माग गरिरहँदा धेरै साथीहरूको प्रश्न थियो, ‘अन्तिमसम्म खुट्टा टेक्न सक्छौं ?’
मैले भनेको थिएँ, ‘पार्टीको सिद्धान्त, मान्यता, परम्परा, प्रतिबद्धता, अभ्यास सबै सबैका जगमा उभिएको हुँ म । खुट्टा नटेक्नुपर्ने कारण नै छैन ।’
तर, यस्तो अवस्था आइलाग्यो, कि प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता कायमको पक्षमा उभिनुभएका साथीहरूको भावनाविपरीत मैले मञ्च उक्लिनैपर्ने भयो । त्यो पनि साथीहरूलाई रुवाउने गरी ।
मैले उम्मेदवारीको मनोनयन फारम मागिरहँदा नेताहरूले भन्नुभयो, ‘निर्वाचन कुनै हालतमा हुन दिन्नौं ।’ उहाँहरूको प्रश्न थियो, ‘निर्वाचन मागेर संगठन,पार्टीबाट निकालिने कि मञ्चमा उभिएर फिर्ता भएको जानकारी दिने ?’
उहाँहरूले त कति सजिलो गरी सोधिदिनुभयो, तर मेरा लागि यो प्रश्न मुटुलाई पहाडले किचे जस्तो भयो । कतै आकाश झरे जस्तो, धर्ती हल्लिए जस्तो पनि । म पार्टी, संगठन र आन्दोलनमा लागेको कुनै एक थान पदका लागि होइन, थिएन । मैले सम्झें, मेरो उर्वर काल, मेरो प्रिय संगठनको लोगो, प्रिय पार्टीकोे प्रिय झन्डा, मलाई माया गर्ने अग्रज र साथीहरूका अनुहार । उहाँहरूको बेहिसाब माया, हार्दिक समर्थन र न्यानो काख ।
मेरो हृदयले भन्यो, ‘यति धेरै माया गर्ने साथीहरूको न्यानो माया छोडाएर टाढा भगाउनेहरूलाई सहयोग पुग्ने गरी निर्णय लिन मिल्दैन । हुन्न ।’ मेरो विवेकले भन्यो, ‘इतिहासको रथ कहिल्यै रोकिएर बस्दैन, घुमिरहन्छ ।’
हो, मैले हृदयको आवाज सुनेँ । दिमागको निर्देशन मानेँ । र, उक्लिएँ मञ्चमा । मुटुमा सय फन्को गाँठो पारेर मञ्चबाट प्रतिनिधि साथीहरूलाई धरधरी रुवाएर भनेँ, ‘मलाई माफ गर्नुहोला, मनोनयन फारम नै नपाएपछि हटेँ है ।’ मनोनयन फारम नै नपाएपछि उम्मेदवारी फिर्ता लिएको भन्न मिल्दैन । पछि हटेको हो । प्रिय कवि तुलसी दिवसको कविता सम्झिएँ:
उक्लँदाउक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ
मेरो भन्नुतपाईंहरूलाई थाहा छ, मैले पछि हट्दै गर्दा मेरो अडान, मान्यता अथवा असहमति नेतृत्वसामु दर्ज गराएको छु । रेकर्ड गराएको छु । ती सबै मैले लिपिबद्ध गरेर पार्टी नेतृत्वलाई बुझाउने नै छु । मलाई विश्वास छ, त्यसलाई नेतृत्वले गम्भीरतापूर्वक लिनेछ । यदि त्यसो भएन भने यो समयलाई, समाजलाई र इतिहासको रेकर्डका लागि पनि मैले त्यो दिनु नै छ । मैले सोधेका प्रश्न वा दर्ज गराएका मेरा मान्यता वा असहमतिलाई यहाँ सूचीकृत गर्दछु :
१. पार्टीलाई जीवन दिने कसम खाइरहँदा मलाई लागेको थियो, सबैभन्दा अग्लो विश्वास हो, पार्टीमा लाग्नु भनेको न्यायको झन्डा बोक्नु हो, समानताको झन्डामुनि गोलबन्द हुनु हो । तर, यस्तो भाष्य निर्माण गरियो कि राजेश राईले जित्दा पार्टी हार्छ, अध्यक्ष हार्छ । पार्टीलाई जीवन दिन्छु भनेर हिँडेको मान्छे पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्दा पार्टी वा अध्यक्ष हार्छ भन्ने भाष्य कहाँबाट निर्माण भयो ? यस्तो भाष्यको निर्माता वा यस्तो भाष्य कोरल्ने कारखाना कहाँ छ ?
२. प्रेस चौतारी नेपाल नेकपा (एमाले) को पेसागत जनसंगठन हो । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’ जननेता मदन भण्डारीले त्यसअतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्छ । जबजको व्यावहारिक प्रयोग गर्दा पार्टी कमजोर होइन, बलियो हुन्छ । सबै मनोविज्ञानहरूको सम्बोधन पनि हुन्छ । तर, यसको व्यावहारिक प्रयोग किन बन्देज गरियो ?
३. हाम्रो पार्टीको नारा छ, ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं ।’ दुई साताका बीचमा पटक पटक निर्णयहरू बदलिनु, एउटा सामान्य कार्यकर्तालाई अपमानित हुने गरी साङ्गठनिक निर्णय हुनु त्यही नाराअनुकूल हो र ?
प्रिय साथीहरू,मलाई थाहा छ, ‘पक्ष र विपक्षको भाष्य निर्माण भयो, सरकारी र गैरसरकारीको नारा लगाइयो । दण्ड र सजायको फरमान जारी भयो ।’ तर, ती सबैलाई बेवास्ता गर्दै तपाईंहरू मेरो पक्षमा सतिसाल जस्तै उभिनुभयो । मेरो शिरमा हात राखिदिनुभयो । मलाई अँगालो हालेर बेस्सरी रुनुभयो । मेरो हात दह्रो गरी समाएर ‘हामी छौं नि’ भन्नुभयो । पहाडजस्तो प्रतिबद्धता जनाएर, मुठी उचालेर लाल सलाम गर्नुभयो । साथीहरू मलाई थाहा छ नि, नारा–जुलुस पो आदेशबाट होलान्, तर आँशु ? यो त हृदयको आवाज हो । हल रोएको बेला मैले पनि मन थाम्न सकिनँ ।
मैले प्रतिस्पर्धाको अवसर गर्न नपाउँदा केही क्षण लागेको थियो, ‘मैले २२ वर्ष गरेको योगदान सप्तकोशीमा बग्छ कि कतै ?’ तर, जब मञ्चबाट ओर्लिएँ, त्यहाँ सन्नाटा थियो । सबै सबै साथीका आँखा रसाएका थिए । साथीहरूले मेरो बाटो छेकेर डाँको छोडेर रुनुभयो । न कुनै व्यक्तिगत घनिष्ठता, न कुनै व्यक्तिगत आश्वासन र प्रतिबद्धता । अग्रजदेखि अनुजहरू भक्कानिनुभयो । त्यो बेला मलाई लाग्यो, ‘२२ वर्षे मेरो यात्रा सफल रहेछ ।’फेरि पनि भन्छु, तपाईंहरुको यो माया मेरो शक्तिको अजस्र स्रोत हो । तपाईंहरूको शुभेच्छा मेरो अमूल्य सम्पति हो । तपाईंहरूको सद्भाव मेरो साहस हो । तपाईंहरूको सम्मान मेरो असाधारण प्राप्ति हो । तपाईंहरूका कारण म धन्य भएको छु ।
साथीहरूले सोध्नुभएको छ, ‘अब तेरो यात्रा कता ?’ मैले हलमा नै भनेको छु, अबका केही थान वर्ष औपचारिक फुलीवाला पदमा म बस्ने छैन ।’ मैले हलमा पनि भनेको छु, पद भनेको पोखरेली प्रिय कवि तीर्थ श्रेष्ठले भनेजस्तै ‘हिउँको नाम’ हो ।हामीले लेखेर आएका छौं
हिउँमा आ–आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने
बाँकी रहने छैनन् हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरू
हो, पद भनेको हिउँमा लेखिएका नामहरू हुन् । आजदेखि समाचारकक्षमा फर्किएको छु । त्यही हिसाबले आन्दोलनमा अधिकतम योगदान गर्नेछु । नाफाघाटाको क्यालकुलेटर थिचेर होइन, विवेकको तराजु उठाएर चुपचाप, बेहिसाब सहयोग गर्नुहुने आदरणीय अग्रज, अनुज र मित्रहरूसँग त्यही हिसाबले जोडिनेछु ।
मैले सामाजिक सञ्जालमा हेरेँ । भनिएको रहेछ, पद नपाएपछि आँसुको गीत गाइयो । आँसु मैले होइन, हलका ९० प्रतिशत साथीहरूले बगाउनुभयो । फेरि भन्छु, आँसु कसैको फरमान र आज्ञामा होइन, केवल हृदयको आदेशले आउने हो ।आँसुमाथिको प्रश्न वा आँसुको अपमान सबैभन्दा निकृष्ट कर्म हो ।
फेरि कसैले भन्लान्, पद नपाएर म समस्यामा छु । मैले अस्ति नै भनेको हुँ, हाम्रा लागि अपमान, अन्याय, विभेद, तिरस्कार कुनै नयाँ विषय नै होइन । हामी त यहाँसम्म यही तिरस्कार र अपमानको लामो शृंखलाको सप्तकोशी पौडेर यहाँसम्म आएका हौं । अन्याय र विभेदका अनगिन्ती सगरमाथा चढेर यहाँसम्म आएका हौं । इतिहासमा आँसुको कोशी तरेर आएका मान्छे हौं । त्यही भएर त वर्ग संघर्षको झन्डा उठायौं।
सहन बानी पो लागेको हो त । तर समयले सुनोस्, इतिहासले बुझोस्, यो धर्र्तीले अभिलेख राखोस्— मन त हाम्रो पनि हो, दुख्छ नि । हृदय त हाम्रो पनि छ, पोल्छ नि । अन्यायले हाम्रो पनि पोल्छ छाती, तिरस्कारले दुख्छ मुटु । हाम्रो पनि छातीमा बल्छ आगो । हाम्रा पनि आँखा दहझैं भरिन्छन् र बग्छ आँसु ।
समय आएपछि सोध्न तयार पारिएका हजार होइन, लाख प्रश्न छन् ।
कवि तथा गीतकार आहुतिले सोधेजस्तो कुनै दिन हामी पनि सोधौंला :
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ
हजारौँ वर्ष हिँडेर तिम्लाई सोध्न आइपुगेँ
ए मन भएको मान्छे
मनलाई सञ्चै छ कि बिरामी
ए ज्ञान भएको मान्छे
ज्ञानलाई सञ्चै छ कि बिरामी
हार्दिक अभिवादन !
(प्रेस चाैतारीका नेता एवं बिराटनगरमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेश राईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको भावना यहाँ साभार गरिएको हो । (सम्पादक)
काठमाडौं
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।यश बिषयमा जनस्तरमा सरकारको चर्काे बिराेध भएको छ।
१२ चैत, काठमाडाैं
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सार्वजनिक गरेको छ। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे जानकारी गराउनु भएकाे हाे ।
घिसिङलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो।कुलमान घिसिङलाई हटाउने निर्णय पछि सरकारको चर्को बिराेध भएको छ।
काठमाडौं
नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन्।
बिराटनगरमा सम्पन्न १०औँ महाधिवेशन अन्तर्गत हिजो पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो।
यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा सर्वसम्मत चयन भएका छन् । यसैगरी उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।प्रदेश इन्चार्ज सहित केन्द्रीय सदस्य समेत सर्वसम्मत घाेषणा गरेको छ।
गजुरी/धादिङ
धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं.१ गजुरीमा अबस्थित आदर्श बहुमुखी क्याम्पसमा आज माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट केही बिद्यार्थी र गैरविद्यार्थीहरु जम्मा गरी विद्यार्थीको पठनपाठन कार्यलाई नै दख्खल पुऱ्याई एकलौटी तरिकाले स्ववियु गठनको घोषणा गरेको एमाले निकट अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले संयुक्त वक्तव्य सार्वजनिक गर्दै आरोप लगाएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्ध प्राप्त आङगीक तथा सामुदायीक क्याम्पसहरुमा विद्यार्थी हकहित संरक्षणको निमित्त गठित विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी यूनियन गठनको लागि २०८१।१२।०५ वा १५ दिन सम्ममा निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सोही सन्दर्भमा हामीलाई प्राप्त जानकारी अनुसार आदर्श बहुमुखी क्याम्पस गजुरीको २०८१।११।१९ मा बैठक बसी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको महसुस गरी सर्वसम्मत स्ववियु गठनको निमित्त पहल गर्ने गरी कार्यदल गठन गरिएको थियो। सो कार्यदलको बैठक बसि सर्वसम्मत स्ववियु गठनको निमित्त पहल भैरहेको अवस्थामा सो कार्यदललाई कुनै जानकारी बिना आज एक्कासि गैर विद्यार्थी जम्मा भई स्ववियु नामक कमिटी घाेषणा गरेको अनेरास्ववियुका नस्विन उप्रेतीले बताए।
समाजिक सञ्जालमा माओबादी कार्यकर्ताले आज स्ववियु कमिटी सार्वजनिक गरे सङ्गै निति र विधि बिपरित सत्ता र शक्तिको आडमा मनलाग्दि गरेको चर्काे बिराेध भएको छ।एमाले नेता एवं कार्यदल सदस्य माधब भण्डारी भन्छन् क्याम्पसलाई बिधार्थी को थाहा छैन? सहजिकरण समितिको बैठक बसिरहेको छ। हरेक तवरले सहमतिको बाटो अपनाई रहेका छौ।त्यो कुनै मतलब छैन,क्याम्पसमा क्रियाशिल बिधार्थी संगठन अनेरास्ववियु ,नेबिसंघ र अनेरास्ववियू (समाजबादि) लाई बाहिर राखेर रबैया देखाए।उता नेपाली काङ्ग्रेस गजुरी गाउँपालिका सभापति भुमि कडेलले पनि यहीँ हाेत सहमति भनेको भनेर प्रश्न गरेका छन्।
एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले क्याम्पस प्रशासनको अनुमती बेगर आफुखुसी विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने गाउँपालिका अध्यक्ष,आदर्श बहुमुखि क्याम्पसका विद्यार्थीहरुको भविष्यलाइ ध्यानमा राखेर फोहोरी राजनैतिक बिभाजनमा नजाने संचालक समितिको निर्णय बिपरित दम्भ देखाएर एकलौटी घोषणा गरिएको कमिटी माओबादीको मात्र सभापति हाेकि सबैको हो? भन्ने प्रश्न गरेका छन्।बिद्यार्थीहरु भने क्याम्पसमा भर्ना गरीएको विद्यार्थी भर्नाको छानविन गरी वास्तविक विद्यार्थीको नामावली सार्वजनीक गरी यथाशिघ्र सहमतिमा वा निर्वाचन प्रक्रियाद्धारा स्ववियु गठनको माग छ।
उता माओबादी स्थानीय देखि केन्द्र सम्मका नेताले भने सभापति लगायत कमिटीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिने ओईरो लागेको छ।चुनाव गराउन पटक-पटक ध्यानाकर्षण गराईयो, क्याम्पस प्रशासन र चुनावी कार्यदल दुबैले स्ववियु चुनाव गराउन खोजेनन् तसर्थ ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षर सहित स्ववियु कमिटी घाेषणा गरेको माओबादी पार्टी र अखिल क्रान्तिकारीको जिकिर छ।यी हुन् आज गठन गरिएको स्ववियु समिति:
सभापति:गणेश पाण्डे
उप सभापतिः सुस्मिता बरुवाल
सचिवः गरिमा लामिछाने
सह सचिव: सुमन डीसी
कोषाध्यक्ष: कुशल सुवेदी
सदस्यहरुः सुनिल वि.क., सलिना सुवेदी, अस्मिता चेपाङ, प्रमिला अधिकारी, नारायण पराजुली, सजिता तामाङ