क्यानडा
एनआरएनए क्यानडामा उत्तरदायी नेतृत्व आवश्यकता रहेको बताउँदै सन्तोष दाहालले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । जुलाई २७ मा हुने निर्वाचनमा दाहालले उम्मेदवारी दिएका हुन् ।
एनआरएनए क्यानडालाई च्यारिटेबल संस्थाको रुपमा रुपान्तरण गर्ने उनको मुख्य एजेन्डा रहेको छ । ‘सिआरए अन्तर्गत च्यारिटी दर्ता, कर, छुट, सरकारी अनुदान, पारदर्शी संस्थागत फन्डिङमा काम गर्नेछु’, उनले भने । सदस्यको आवाजमा आधारित एनआरएनए क्यानडाको मूल कानुन संशोधन पनि उनले उठाएको मुद्वा हो ।
एनआरएनए नागरिकताको व्यवहारिक कार्यान्वयनमा जोड दिने उनको वरिष्ठ उपाध्यक्षका उम्मेदवार दाहालको उद्घोष छ । ‘नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गरी सम्पत्ति स्वामित्व, नागरिकताको कानुनी स्पष्टता र हक अधिकार सुनिश्चित गर्ने रणनीति अवलम्बन गरिनेछ’, उनी भन्छन्, ‘विशेषतः एनआरएनए नागरिकता प्राप्त गरेपछि अघिल्लो नेपाली नागरिकतामा खरिद गरिएका सम्पत्तिको सुरक्षित रूपान्तरणका लागि स्पष्ट र कार्यान्वयनयोग्य कानुनी प्रक्रिया निर्माणमा पहल गर्नुपर्नेछ ।’
संघीय, प्रान्तीय सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै परियोजनामा आधारित लगानीमार्फत संस्थाको दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्ने दाहालको लक्ष्य छ । डायस्पोरा मैत्री कार्यक्रम सञ्चालन गर्ने, अपातकीलन सहायता कोष स्थापना गरेर नेपाली समुदायलाई संस्थागत सहयोग गर्ने, स्मार्ट नेतृत्व मुल्यांकन र पारदर्शिता लगायत एजेन्डा उठाएका छन् ।
डेटा सुरक्षामा शून्य सहनशीलता अबको नेतृत्वको केन्द्रबिन्दु हुनुपर्ने उनले सुनाए । ‘हालै सार्वजनिक भएको एनआरएनए क्यानाडा सदस्य डेटा लीक घटनाले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ । हजारौँ सदस्यहरूको संवेदनशील जानकारी लिक हुनु नेतृत्वगत लापरवाहीको स्पष्ट उदाहरण हो’, उनले भने । डेटा सुरक्षामा शून्य सहनशीलताको ऐतिहासिक प्रतिबद्धता उनले जनाए ।
डेटा गोपनीयताको आचारसंहिता निर्माण, साइबर सुरक्षा प्रणाली लागू, डेटा इनक्रिप्शन र सदस्य अनुमतिमा आधारित प्रणाली, कानुनी जवाफदेही संयन्त्र कार्यान्वयनमा ठोस कदम चाल्ने भएकाले आफूलाई मतदान गरेर निर्वाचित गराउन मतदाता समक्षको उनको अनुरोध छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका खेलेका दाहालले नेपाली अन्तर्राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रममा नेपालको औपचारिक प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल र क्यानडाबीचको सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्ध सुदृढ पार्न प्रतिबद्ध रहेको उनले सुुनाए ।
१३ वर्षदेखि क्यानडामा रहेको नेपाली समुदायसँग सामाजिक क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । नेपाली क्यानडेली डायस्पोरा समुदायको नीति निर्माण, नेतृत्व विकास, संस्थागत सुढृणीकरण र समन्वयको अभियन्ताको छवि सन्तोषले बनाएका छन् । उनी हाल एसोशियसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) का उपाध्यक्ष भएर काम गरिरहेका छन् । एएनए ४२ औं अन्तर्राष्ट्रिय सम्मेलन २०२५ क्याल्गरीको मानर्थ संरक्षक समेत हुन् ।
क्यानडा
एनआरएनए क्यानडाको महिला उपाध्यक्षमा समिक्षा कार्कीले उम्मेदवारी दिएकी छन् । सशक्त नेपाली समुदाय निर्माणको दिशामा लाग्ने उद्घोषका साथ समिक्षाले उम्मेदवारी दिएकी हुन् ।
अलब्रेटाको एक कर्पोरेट ल फर्ममा ह्युमन रिर्सोसेस म्यानेजरका रुपमा कार्यरता समिक्षाले नेपाली समुदायसँग सहकार्य गर्दै आपतकालीन सहयोग, महिला सशक्तिकरण र सामाजिक सेवाका अभियानमा उल्लेखिय भूमिका निभएकी छन् ।
अग्रज र अनुजलाई सँगै लिएर अगाडि बढ्न सक्ने क्षमता आफूमा भएको उनले बताइन् । ‘एनआरएनएलाई क्यानाडाको सरकारसँग सहकार्य गर्दै अगाडि बढाउने कोशिष रहनेछ’, उनले सुनाइन् ।
महिला पुरुषलाई सँगै डो¥याएर हिँड्ने उनको भनाइ छ । ‘महिलालाई विशेषत त उद्यमसँग जोड्नेछुु’, समिक्ष भन्छिन्, ‘आत्मनिर्भर कसरी बनाउने ? संस्कार, संस्कृति र मौलिकता कसरी नबिर्सने ? र जोगाउन के–के गर्न सक्छौं सबै मिलेर काम गर्नेछु ।’
‘सामाजिक परिवर्तन शब्दले होइन, कामले मात्र सम्भव हुन्छ । र म गर्न सक्छु’, समिक्षाको उद्घोष छ ।
क्यानाडा बसाइको छोटो अवधिमै नेपाली समुुदायमाझ लोकप्रिय उनी महिला र युवतीहरूका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न रुचाउछिन् । ‘गोपनीयता, सहज पहुँच र सहानुभूतिको आधारमा परामर्श, समर्थन र आत्मबल बढाउने कार्यक्रम मेरो पहिलो प्राथमिकता हुनेछन् । यस क्षेत्रमा मेरो प्रयास सदैव रहनेछ । जुन मैले विगतमा पनि गर्दै आएकी छु’, आफ्ना योजना सुनाउदै उनले भनेकी छन् ।
आफूले जितेमा आपतकालिन उद्धार कोष स्थपना गर्ने उनको लक्ष्य छ । ‘प्रकृतिजन्य प्रकोपको बेला समयमै राहत पु¥याउने उद्देश्यले अग्रिम तयारीसहितको विशेष आपतकालीन कोषको व्यवस्था गर्नु संस्थागत रूपमा दूरदर्शी निर्णय हुने छ । यसले संकटको समयमा सहकार्य, समन्वय र प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय सुधार ल्याउनेछ’, उनको विश्वास छ ।
नेपाल क्यानडा डायास्पोरा फोरम नीति निर्माण गर्दै लगानी, शिक्षा र आपसी सहकार्यलाई प्रवद्र्धन गरिने योजना रहेको समिक्षा बताउछिन् । युवापुस्तालाई ‘इन्र्टनसिप’, ‘मेन्टरसिप’ र ‘भोलेन्टियरिङ’ जस्ता अवसरले नेतृत्व विकास क्षमता तिर्खान आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
सामाजिक उत्तरदायित्व वहन अन्तर्गत निजि कम्पनीबाट आर्थिक संकलन गर्ने उनले लक्ष्य राखेकी छन् । आफू महिला उपाध्यक्ष पदमा निर्वाचित भएमा क्यानडामा रहेका नेपाली समुदाय र संस्थाबीचको पुल बन्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘जसले हाम्रो साझा पहिचानलाई सशक्त बनाउनेछ । हरेक अन्त्यमा मेरो प्रयास रहनेछ ‘म गर्न सक्छुु’ भन्ने आत्मविश्वासका साथ । म केवल उम्मेदवार होइन, तपाईंहरूको आवाज, तपाईंहरूको प्रतिनिधि बन्नेछु ।’
क्यानडामा रहेका नेपाली समुदायको सामूहिक भविष्य निर्माणमा आफूलाई मतदान गरेर जिताउन उनको अपिल छ ।
तनहुँ
बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिका–६ थानीभैरवको खरखरे पाखामा वृक्षारोपण गरेको छ । मंगलबार खरखरे पाखामा वृक्षारोपण गर्दै २० हजार वृक्षारोपण अभियानको शुभारम्भ गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय हावापानीमा उपयुक्त फलफूलका विरुवा वृक्षारोपण गरेको सूर्य नेपाल प्रालि शेराटारका मानव शंसाधन विभाग प्रमुख अञ्जान दुवाडीले बताए । उनका अनुसार एभोकाडो, आँप, चाँप, समी, पिपल, अम्बा, अमला, रुख कटहर, रुद«ाक्ष लगायतका १ हजार ५०० विरुवा रोपिएको छ ।
वृक्षारोपणमा सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्की, विभागीय प्रमुखहरु गौतम यादव, राजु पौडेल, हुमनाथ अर्याल, म्याग्दे गाउँपालिका–६ का वडाध्यक्ष हिरा गुरुङ, पर्यावरण तथा दिगो विकास केन्दका प्रमुख रवि आचार्य लगायतको सहभागिता रहेको थियो ।
पर्यावरण तथा दिगो विकास संस्थासँगको सहकार्यमा वृक्षारोपण गरेको हो । गत वर्षसम्म सूर्य नेपालले १५ हजार विरुवा रोपेको थियो । यो वर्ष थप २० हजार रोप्ने अभियान थालेको छ ।
सूूर्य नेपालले तनहुँका विभिन्न क्षेत्रमा दिगो विकासलाई लक्षित गरि आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्ने गर्दछ । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, फोहर व्यवस्थापन, आयआर्जनमुलक कार्यक्रममा सहयोग गर्दै आइरहेको छ ।
क्यानडा
एनआरएनए एनसीसी क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । गुटभन्दा माथि उठेर साझा मन्च बनाउन प्रयासरत रहने उद्घोषसहित चन्द्राले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।
उनी हालकी महासचिव रहेकी छन् । मतदानमार्फत चुनिएर पहिलो महासचिव बनेकी चन्द्राले पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने दाउमा छिन् । एनआरएनए क्यानडाको अध्यक्षमा महिलाले उम्मेदवारी दिएको पनि पहिलो पटक हो ।
नीति र कार्यान्वयनको अन्तर बुझेर कार्यसम्पादनको तहमा निस्वार्थ भावनाले लाग्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ । ‘म गुटभन्दा माथि उठेर साझा मञ्च बनाउन प्रयासरत रहन्छु’, अधिकारी भन्छिन्, ‘मलाई नेपाली डायस्पोराको सामूहिक शक्ति र बौद्धिक योगदानको मूल्य थाहा छ ।’
नेपाली डायोस्पोरालाई सबल, सक्षम अनि उर्जाशील बनाउने उनले प्रतिबद्धता जनाएकी छन् ।
आफूले जितेमा नेपाली समुदायका सुखदुखको सारथी भएर अगाडि बढ्ने उनको प्रण छ । ‘क्यानडामा कति नेपाली हुनुहुन्छ यकिन तथ्याङ्क छैन । तथ्याङ्क संकलनमा मेरो पहिलो प्राथमिकता हुनेछ’, योजना सुनाउदै उनले भनिन्, ‘हाम्रो आफ्नै कार्यालय छैन । झोलामा कागजपत्र बोकेर हिँड्नुपरेको छ । आफ्नै भवन बनाउने सोंच छ ।’
यस अगावै अगाडि सारेको सामुदायिक भवन बनाउने योजनालाई निरन्तरता दिने उनको दाबी छ ।भैपरी आउने समस्यालाई समाधान गर्न खडा गरिएको आकस्मिक कोषलाई वृद्धि गर्दै नेपाली डायोस्परामा विस्तार गर्ने उनको भनाइ छ । नेपाली भाषा संस्कृति आफ्नो मुख्य एजेन्डा रहेको उनले बताएकी छन् ।
आफू सक्षम, सबल युवा भएकाले पनि चुनावी मैदानमा उत्रिएको उनको दाबी छ । भन्छिन्, ‘युवा र सक्षम भएकाले संस्थालाई थप उचाईमा पु¥याउनेछु ।’
स्याङजा चापाकोटकी चन्द्रा १० वर्षदेखि क्यानडामा छिन् । उनी नेपाली समुदायको सुखदुखको सारथी बन्दै आइरहेकी छन् ।
६००० हाराहारीमा मतदाता भएको एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ मा मतदान हुनेछ ।
पोखरा
चोरी गरेर भाग्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ«े गाँउपालिका–९ स्थायी घर भएका २३ वर्षीय ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले साउन २ गते संगिता भण्डारीको कोठाबाट १२ लाख ३० हजार रुपैयाँ चोरी गरेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । उनलाई पोखराको डिकोपाटनबाट चोरी गरेको ९ लाख ९७ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको उनले जानकारी दिए । भुजेलको साथबाट दुई थान मोबाइलसमेत बरामद गरिएको छ ।
जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
पोखरा
पोखरामा कोरोन संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ फूलबारीकी ७० वर्षीया वृद्धाको मृत्यु भएको हो ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत ती वृद्धाको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका निर्देशक खिमबहादुर खड्काले बताए ।
उनलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि कोरोनकै कारण अस्पताल ल्याइएको भने होइन । उनलाई उच्च रक्तचाप र मधुमेहको समस्यासमेत थियो ।
गण्डकीमा गएको जनवरीदेखि हालसम्म ८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कास्कीमा ५ जना, बागलुङमा २ जना, स्याङजामा १ जनालाई संक्रमणको पुष्टि भएको थियो । हाल संक्रमितको संख्य शून्य रहेको खड्काले जानकारी दिए ।
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल छलफल भएको थियो ।
यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् ।
एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।
पोखरा
पर्वतमा पहिरोमा परेर वेपत्ता दम्पत्ति नै मृत फेला परेका छन् । ७६ वर्षीया विष्णुमति विश्वकर्माको शव फेला परेसँगै दुवै जनाको शव भेटिएको हो ।
मोदी गाउँपालिका–३ देउरालीस्थित लाङदीमा घरमाथिबाट पहिरो खस्दा ७८ वर्षीय छविलाल विश्वकर्मा र ७६ वर्षीया विष्णुमति वेपत्ता भएका थिए । पहिरो पन्छाउने क्रममा दुवै जनाको शव फेला फेला जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए । घटनास्थलको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि कुश्मा ल्याइदै छ ।
आइतबार विहान खसेको पहिरोमा छविलालकी ३२ वर्षिया पवित्रा विक भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।
पोखरा
कास्कीको पोखरा महानगरपालिका–१३ काहुखोलामा नहरको बाँध भत्किएको छ ।
अविरल बर्षापछि नहरमा पानीको वहाब बढ्दा बाँध भत्किएको हो । बाँध भत्कदा दुई घरमा क्षति पुगेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार दिपा लामा र रामचन्द्र बरालको घरमा क्षति भएको हो । ‘मानवीय क्षति भएको छैन’, बरालले भने ।
बाँध भत्केर केही बेर स्थिती तनावग्रस्त भएको थियो । अहिले नहरको धार पूरानै अवस्थामा फर्काइएको बरालको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार काहुँखोलाका दुवै घर बस्नलाई जोखिमपूर्ण भएका छन् ।
यस्तै पोखराकै भलाममा पनि सूर्यप्रसाद बास्तोलको घर पनि पहिरोले भत्काएको छ । मानविय क्षति भने भएको छैन ।
तनहुँ
सडकको ट्रयाक खुलेको २७ बर्ष भयो । देशकै लाइफलाइन पृथ्वी राजमार्गबाट ३ किलोमिटर मात्रै पर भएपनि खैरेनीटार तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा मोटर गुड्ने पुल थिएन ।
हिउँदको बेला कुलो जत्रै बग्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीको कुम्लखोला बर्खा लागेसँगै उग्र बन्छ । उर्लेको भेलमा सवारी वारपार गर्नुपर्ने स्थानीयको नियति नै थियो । दुई पांग्रे सवारीलाई खोला तार्दाको जोखिम वयान गरिसाध्य छैन ।
जाम्दीका शंकर सारुका अनुसार बर्खामा खोलाबाट सवारी वारपार गर्न युद्ध जितेसरह नै थियो । ‘पुल नहुदाँ गाह्रै थियो । गाडीहरु वारीको वारी पारीको पारी हुन्थ्थो’, उनी भन्छन्, ‘कहिलेकसो त न्यारथुम भएर पनि गइन्थ्यो ।
तर, यो जोखिमबाट ढिलै भएपनि स्थानीयले मुक्ति पाएका छन् । शुक्लागण्डकी नगरपालिका–६ बेलबोटे फेदीस्थित कुम्लेखोलामा मोटरेबल पुल बनेको छ । पुल बनेसँगै बर्खा याममा निकै सहज भएको हो । अब त सजिलो हुने भयो ।’
उनले थपे, ‘एकदमै खुशी छु । राम्रो पुल बन्यो । सकि नसकि खोलाबाट गाडी तार्नुपर्दैन ।’
खेरैनीटार बजारबाट कुम्लेखोला तरेर यस क्षेत्रकै प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ । मनसुनको बेला मन्दिर गएका भक्तजन फर्कदा पानी परेर खोला तर्नै नसक्ने अवस्थासमेत हुन्थ्यो । खैरेनीटार तीनखोले देवी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष बालकुमार वाग्लेले अब स्थानीयसँगै मन्दिर आउने भक्तजनले सास्ती खेप्नु नपर्ने बताए ।
‘मन्दिरमा जाने दिउँसोमा दर्शन गरेर फर्कने बेलामा यदि पानी आएर खोला बढ्यो भने आएका भक्तजन पनि तरेर जान नपाउने स्थिति थियो । त्यो अवस्थाबाट अहिले पुल बनाउन सफल भएका छौं’, उनले भने । सुरु गरेको निकै छोटो समयमा पुल निर्माण भएको भन्दै उनले खुशी व्यक्त गरे ।
बर्खामा कुम्लेखोलाले स्थानीय जनप्रतिनिधिको पनि निद हराम गरेको थियो । सीमित स्रोत साधानकाबीच स्थानीय तह एक्लैले पुल बनाउन सक्ने अवस्था थिएन । अहिले पुल बनेपछि जनप्रतिनिधि पनि हर्षित छन् । खोलामा हिउँमा सजिलोका लागि ह्युमपाइप राखिएको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताए । बर्खा लागेपछि उर्लेको भेलले बगाइदिने उनी सम्झन्छन् । ‘पानी परेसि फोन आउथ्यो, ह्युमपाइप बगायो भन्नुहुन्थ्यो । यदि तनाव हुन्थ्यौं हामी । यस क्षेत्रका जनता पनि तनावमै हुनुहन्थ्यो’, उनी भन्छन्, ‘आज यो पुल बनेपनि यस क्षेत्रका सबै जनताको मुहारमा खुशी छाएको छ ।’
सम्झौता अवधि सकिन ५ महिना बाँकी छँदै पुल निर्माण भएको हो । निर्माण व्यवसायीले पटक– पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्तिकाबीच म्याद नसकिदै पुल बन्दा स्थानीय चकित छन् । अर्कोतर्फ पुल बनेर बर्खा बेला खोलामा सवारीसँगै हेलिनुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीयको खुशीको सिमा नै छैन ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो । डबल सेल बक्स डिजाइनको पुल २ करोड ८० लाख ५९ हजार ९७९ रुपैयाँको लागतमा पुल निर्माण भएको छ । २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मिले २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो । तर, म्याद सकिन ५ महिना अगावै सम्पन्न गरेर तामझामका साथ उद्घाटन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित लगायतले शनिबार पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटनको अवसरमा वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिलाई सम्मानसमेत गरिएको छ । वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिका गगन केसीलाई उपभोक्ता समितिले प्रशंसापत्र सहित सम्मान गरेको हो ।
पछिल्लो समय सडक, पुल लगायत भौतिक पूर्वाधार विकासमा ठेकेदारले दिएको सास्तीले तीनै तहका सरकार र उपभोक्ता हैरान छन् । तर, कुम्लेखोला पुल निर्माण गरेको वेस्र्टन पपुलर कन्स्ट्रक्सन प्रालिले भने अपवादको रुपमा पटक पटक म्याद थप्ने होइन पहिलो पटक नै म्याद अगावै सक्ने छवि बनाएको छ ।
पोखरा–पर्वतमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।
मोदी गाउँपालिका–३ लाङ्दीका छविलाल विश्वकर्माको घरमाथिबाट आइतबार बिहान पहिरो खसेको हो ।
प्रहरीले पहिरो पन्छाउने क्रममा ७६ वर्षीय छविलालको शव फेला पारेको छ । बेपत्ता उनकी श्रीमति विष्णुमतिको खोजी भइरहेको छ ।
‘बुहारीले भागेर ज्यान बचाउन सफल भएकी छन्’, जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए ।
पर्वतका ग्रामिण सडकहरु बाढी पहिरोले अबरुद्ध बनेको डिएसपी विष्टले बताए ।
काठमाडौं
नेपालमा दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने गरेको पाइएको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको छ ।
यो यस वर्ष राखिएको लक्ष्यभन्दा माथि रहेको भौतिकमन्त्री देवेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार पछिल्लो ६ वर्षयता भौतिकले सबैभन्दा धेरै ७६.४१ प्रतिशत प्रगति गर्न सफल भएको छ ।
यसमध्ये ८ अर्ब ६६ करोड बराबरको काम भने अघिल्ला आवमा सम्पन्न भई भुक्तानीमात्र यस वर्ष भएको हो । यो वर्ष चालु आवमा भने ठूलो भुक्तानी दायित्व नसरेको उनले जानकारी दिए ।
यो अवधिमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएकोमा ५८.५ किलोमिटर मात्र कालोपत्र भएको छ ।
हुलाकी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर लक्ष्य रहेकोमा ९२.५ किलोमिटर कालोपत्र भइसकेको छ । कर्णाली करिडोरमा २० किलोमिटर ग्राभेल सडक निर्माण लक्ष्य रहेकोमा लक्ष्य अनुसार काम भएको छ । कालिगण्डकी करिडोरमा ५० किलोमिटर कालोपत्र सक्ने भनिएकोमा ७१ किलोमिटर कालोपत्र भएको मन्त्रालयको तथ्यांक छ ।
पूर्वपश्चिम नारायणघाट–बुटवल खण्डमा १ सय १३ किलोमिटर कालोपत्र सम्पन्न गर्ने भनिएकोमा ६० किलोमिटर चार लेन र ३३.५ किलोमिटर २ लेन कालोपत्र भएको छ । अहिले दाउन्ने बाहेक क्षेत्रमा प्रगति राम्रो रहेको मन्त्री दाहालले दाबी गरे ।
काठमाडौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई तयारी रहेर बस्न निर्देशन दिएका छन्।
बिहीवार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले जुनसुकै बेला सरकारको प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका हुन्।
‘सावधानी गर्दा गर्दै सरकार यसरी भ्रष्टाचारमा लिप्त हुने, यसरी नै जनभावना विपरीत गयो भने हामीले छिट्टै सडकबाट नै यो सरकारको प्रतिवाद गर्ने दिन आउँछ’, वाइसिएल कार्यकर्तालाई भने, ‘त्यसका लागि सबै आफूलाई तयार पार्न अपिल गर्छु।’
अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे।
‘सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो’, उनले भने।
तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि ल्याएको बजेट पारित भएको छ । बुधबार बसेको १७ औं नगर सभाले १ अर्ब २८ करोड २८ लाख ८९ हजार ९९७ रुपैयाँको बजेट पारित गरेको हो ।
नगर सभा सुरुमा पेश गरिएको अनुमानित बजेटमा ३ करोड ५२ लाख ५६ हजार ३५ रुपैयाँ थप गरेर बजेट पारित गरिएको छ । असार ९ गते पेश गरिएको अनुमानित बजेट १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको थियो । भागबन्डमा मिलाउन बजेटको आकार बढेसँगै अस्वभाविक आन्तरिक आम्दानीको प्रक्षेपण गरिएको छ ।
बजेटमा भागबन्डा मिलाउन आन्तरिक आम्दानीमा ३ करोड ५२ लाख ५६ हजार ३५ रुपैयाँ बढाइएको हो । सुरुमा नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अहिले २८ करोड ६२ लाख ८३ हजार ९६८ रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य छ । जबकी चालु आर्थिक वर्ष २०८१/८२ मा शुक्लागण्डकीले १५ करोड रुपैयाँ आन्तरिक आम्दानीको प्रक्षेपण गरेकोमा मुस्किलले १३ करोड संकलन भएको छ ।
आगामी वर्षको बजेटमा चालुतर्फ ६६ करोड ६४ लाख २८ हजार ७४९ रुपैयाँ विनियोजन भएको छ । चालुमा कुल बजेटको ५१.९५ प्रतिशत हो । पुँजीगततर्फ ४८.०५ प्रतिशत बजेट विनियोजन भएको छ । पुँजीगतमा ६१ करोड ६४ लाख ६१ हजार २४८ रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले पूर्वाधार विकासतर्फ सडकमा मात्रै ७ करोड १२ लाख रुपैयाँ छुट्याएको छ । सिंचाईमा ७५ लाख रुपैयाँ, खानेपानीमा १ करोड २८ लाख रुपैयाँ, कृषि विकासमा १ करोड ३७ लाख ३० हजार रुपैयाँ, पर्यटन तथा सहकारीका लागि १९ लाख ५ हजार रुपैयाँ, पशु विकासमा ३६ लाख ५१ हजार रुपैयाँ, वन वातावरण तथा विपद् समितितर्फ १ करोड ६२ लाख ८७ हजार ८०१ रुपैयाँ विनियोजन भएको छ । शिक्षातर्फ ४ करोड ३७ लाख ४५ हजार, लक्षित वर्गका लागि १ करोड ७७ लाख ९८ हजार २९७ रुपैयाँ, स्वास्थ्यमा १ करोड ६ लाख ६० हजार रुपैयाँ, आयुर्वेदमा ५ लाख ३० हजार ९४५ रुपैयाँ, युवा तथा खेलकुदमा २५ लाख १८ हजार २४३ रुपैयाँ विनियोजन भएको छ । सुशासनका लागि ९५ लाख ५० हजार रुपैयाँ र कर्मचारीको तलब सुविधामा १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ । १२ वटा वडाका योजनाका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ विनियोजन भएको हो ।
बजेटको आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ । राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार २९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ रहेको छ । गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ र जनसहभागिता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
काठमाडौं
सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ ।
विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ ।
‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’
महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।
राज्यपक्षप्रतिको आकोश, निराशा र अविश्वासको जगमा उठ्ने आन्दोलनले ल्याउन सक्ने गम्भीर अवस्थाप्रति सचेत रहन पनि महासंघले भनेको छ । ‘त्यसबाट उत्पन्न हुने असहज परिस्थिति र परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने कुरा समेत प्रष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्वको सवाल, स्थायी शिक्षकको बढुवाको सवाल, विभागीय कार्बाही सवाल, सविधान प्रदत्त ट्रेड युनियन अधिकारको सवाल, शिक्षक सरुवा, विद्यालय कर्मचारीको व्यवस्थापन, बालकक्षा शिक्षकको व्यवस्थापन, संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको व्यवस्थापन, द्वन्द्व पीडित शिक्षकको समस्या समाधान, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन लगायत विषयमा सरकार गम्भीर नभएको ठहर महासंघको ठहर छ ।